कार्यकारीका लागि एआईजी राई किन भए अयोग्य ?



काठमाडौ : गृहसचिव प्रेम कुमार राईले सेटिङ मिलाएर निवेदन राख्न लगाएका नेपाल प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ठुले राई राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि अयोग्य सावित भएका छन् ।

उनी एक नम्बरमा त परेनन् परेनन्, पाँच जनाको सिफारिसमा नपरेपछि गृहमन्त्रालय परिसरमा मात्र होईन प्रहरी मुख्यालयमा समेत हलचल मच्चिएको छ । अब यो कुराले स्वयम् एआईजी राईलाई तनाव त परेको छ नै त्यो भन्दा बढी सचिव राईलाई परेको बताईन्छ ।

कार्यकारी प्रमुखका लागि सिफारिस तथा छनौट समितिले सिफारिस गरेको पाँचमा अनिल पोखरेल, कृष्णाकुमारी कार्की, पिताम्बर अर्याल, प्रेमबहादुर थापा र विष्णुप्रसाद खरेल ५ जनाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ।नियुक्ति सिफारिसका लागि गठित समितिको बैठकले १३ जनाबाट अन्तिम पाँच छनोट गरेको हो।

शैक्षिक योग्यता, अनुभव र तालिमबापत सबैभन्दा बढी अंक प्राप्त गर्नेलाई छनोट नगरी कम अंक प्राप्त गर्नेलाई अन्तिम पाँचमा छानिएको हो। शैक्षिक योग्यता, अनुभव र तालिमबाट प्राप्त गरेको अंकमा सिलबन्द अवस्थामा पेश गरेका सोचपत्र र व्यवसायिक कार्ययोजनाको मूल्यांकनबापत प्राप्त अंकसमेत हेरफेर भएको स्रोतको दाबी छ।

‘शैक्षिक योग्यता, अनुभव र तालिम बापत प्राप्त अंक एवं सिलबन्द अवस्थामा पेश गरेका सोचपत्र र व्यवसायिक कार्ययोजनाको मूल्याङ्कनबापत प्राप्त अंक समेतलाई जोडी सबैभन्दा बढी अंक प्राप्त गर्ने पाँच उम्मेदवारहरुलाई सोचपत्र तथा व्यवसायिक कार्ययोजना प्रस्तुतीकरणको लागि छनौट गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारी गराइन्छ,’ गृह मन्त्रालयद्वारा प्रकाशित सूचनामा भनिएको थियो । छनौट भएका पाँचै जनाको प्रस्तुतीकरण बुधबार मन्त्रालयमा भएको थियो ।
आवेदन स्वीकृत भई प्राधिकरणको कार्यकारी प्रमुखको प्रतिस्पर्धामा रोहितकुमार यादव, डा. नारायणप्रसाद मरासिनी, डा.सुबोध ढकाल, सुनिल सन शाक्य, डा. हरिराम पराजुली, तोयनाथ सुवेदी, पिताम्बर अर्याल, अरुणकुमार पाल, ठूले राई, विष्णुप्रसाद खरेल, प्रेमबहादुर थापा, अनिल पोख्रेल र कृष्णाकुमारी कार्की रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि १३ जनाबीच प्रतिस्पर्धा भएको थियो।

गृह मन्त्रालयले तीन पटकसम्म सूचना प्रकाशित गरी कार्यकारी प्रमुख माग गर्दा १३ जना प्रतिस्पर्धीको आवेदन स्वीकृत गरेको थियो । आवेदकहरुको शैक्षिक योग्यता, तालिम र अनुभवका लागि २५ पूर्णाङ्क राखिएकोमा सबैभन्दा बढी अंक डा. सुबोध ढकाल र डा. प्रेमबहादुर थापाले २४.५ अंक र राईले २१.५ पाएका थिए ।

गृह मन्त्रालयका अनुसार प्रतिस्पर्धामा सहभागी अन्य प्रतिस्पर्धीमध्ये यादवले १९, मरासिनीले २१, शाक्यले १८, पराजुलीले २२, सुवेदीले १९, अर्यालले २०, पालले २२.५, खरेलले १९, पोख्रेलले २०.५ र कार्कीले २१.५ अंक प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्