क्या बात ! महाकुलुङ गाडीको बजेट छात्रवृत्तिमा



सोलुखुम्बु:  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले गाडी खरिद गर्न ६२ लाख रुपैयाँ छुट्यायो । जनप्रतिनिधि विकासतर्फभन्दा सुखसयलमा केन्द्रित हुन थालेको भन्दै मुलुकभर चर्को आलोचना हुन थालेपछि सो गाउँपालिकाले आफ्नो पूर्ववत् निर्णयमा परिवर्तन गरी बजेट रकमान्तर गरेको छ ।

 

गाउँपालिकाले बजेट रकमान्तर गरी महाकुलुङ–१ का रोशन कुलुङलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिस्वरूप ४ लाख रुपैयाँ दिने निर्णय गरेको छ । एसईईमा सोलुखुम्बु जिल्ला प्रथम हुँदै हालै एमबीबीएसको प्रवेश परीक्षामा छात्रवृत्ति कोटामा नाम निकाल्न सफल अत्यन्तै विपन्न परिवारमा जन्मिएका रोशनलाई डाक्टरका रूपमा पाउने गाउँपालिकाकै सपना पूरा गर्नका लागि छात्रवृत्ति दिइन लागेको अध्यक्ष सागर किरातीले बताए ।

 

 

यस्तै, फार्मेसी डिप्लोमाका लागि महाकुलुङ–२ की एकता कुलुङलाई छात्रवृत्तिस्वरूप १ लाख दिइने भएको छ । गाउँपालिकाले गाउँपालिकाका लागि गाडी खरिद गर्नका लागि छुट्याएको ६२ लाख रुपैयाँ बजेट रकमान्तर गरी छात्रवृत्तिलगायत अन्य विकास कार्यमा खर्च गर्ने भएको हो । देशैभरि स्थानीय तहले गाडी खरिदमा अत्यधिक रकम खर्च गरेको जनगुनासो आइरहेका बेला महाकुलुङ गाउँपालिकाले गाडी खरिद गर्नकै लागि छुट्याएको रकम अन्य काममा खर्च गर्ने निर्णय गरेको हो ।

 

कार्यपालिकाको बैठकले कुलुङको महान् चाड चाक्चाकुरको अवसरमा १५, १६ र १७ पुसमा गाउँपालिकामा बिदा दिने पनि निर्णय गरेको छ । त्यस्तै, गाडी खरिदकै लागि छुट्याइएको रकमबाट विद्यालय सुधार योजना निर्माण र शिक्षा शाखा व्यवस्थापन निर्माणका लागि ४ लाख, पात्ले तोस्खम सिँचाइका लागि ५ लाख, ट्रान्समिटर खरिदका लागि ३ लाख, सगरमाथा माविमा खानेपानी फिल्टरका लागि ३ लाख, तुमाउ स्वास्थ्य चौकी फर्निचर व्यवस्थापनका लागि ४ लाख विनियोजन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लबुन राईले बताए ।

 

यस्तै, गुदेल स्वास्थ्य चौकीका लागि ४ लाख, गाउँपालिकाको पाश्र्वचित्र निर्माणका लागि ८ लाख, सुर्के खोला लघु जलविद्युत् आयोजनाका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । साथै, गाउँपालिकाले महाकुलुङ गाउँपालिकाभित्र जुवा, तास र डाइस खेल्न खेलाउन प्रतिबन्धसमेत लगाएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्