निर्माणधीन रेसुङ्गा विमानस्थलको निरीक्षण गर्दै परराष्ट्रमन्त्री ज्ञवाली



गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको निरीक्षण गरेका छन् । आफू पर्यटनमन्त्री हँदा विमानस्थल निर्माण प्रकृया प्रारम्भ भएपनि बिचमा काम हुन नसकेकोमा खिन्न भएका मन्त्री ज्ञवालीले पछिल्लोपटक विमानस्थल निर्माण प्रकृयालाई तिव्रता दिएका हुन ।

स्थानीय विद्यार्थी नेता काशी पाण्डेका अनुसार ६ महिना अर्थात आगामी जेठभित्र निर्माणसम्बन्धी सम्पुर्ण काम सक्न परराष्ट्रमन्त्री ज्ञवालीले निमार्ण कम्पनीलाई विशेष आग्रह गरेका थिए । मन्त्री ज्ञवालीको आग्रहपछि कम्पनीको तर्फवाट पनि ६ महिनामै सम्पुर्ण निर्माण सक्ने प्रतिबद्धता व्यक्त भएको छ । पाण्डेले यसपछि निर्माण समयमै सम्पन्न भई आगामी जेठबाट नियमित उडान हुने कुरामा विश्वास रहेको बताए ।

केही समयअघि तारा एयरको जहाज चढेर मन्त्री ज्ञवालीसहित तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारी र नागरिक उड्डयन प्राधिकरणका बरिष्ठ अधिकारीहरु परिक्षण उडान गरेका थिए ।निर्माणाधीन विमानस्थलको निरीक्षणका क्रममा मन्त्री ज्ञवालीले रन वे पीच गर्ने लगायतका कामहरु छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए ।

आगामी २०७७ सालको शुरुवातीसँगै गुल्मेलीहरुको सपनाको रुपमा रहेको विमानस्थल निर्माण कार्य सम्पन्न गरी नियमित उडान गर्ने गरी कार्य भईरहेको निरीक्षण टोलीमा रहेका रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषालले बताए ।

सो विमानस्थलको १२ वर्ष अघि तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदीप कुमार ज्ञवालीले शिलान्यास गरेका थिए । केही समयअघि तारा एयरको ९ एनएकेल जहाजले रेसुङ्गा विमानस्थलमा परिक्षण उडान गरेपछि भने गुल्मेलीहरु अहिले हर्षित भएका छन ।

त्यसबेला जिल्लाकै विमानस्थलमा पहिलोपटक जहाज अवतरण गरेपछि गुल्मेलीहरु लगायत छिमेकी जिल्ला अर्घाखाचीका सर्वसाधारणहरु समेत रेसुङ्गा विमानस्थलमा जहाज हेर्नका लागि आएका थिए । विमानस्थलमा आएका दर्शकहरुलाई ब्यवस्थापन गर्नका लागि प्रहरीलाई समेत समस्या भएको थियो ।

विमानस्थल निमार्णका लागि ४६ रोपनी जग्गाको मुआव्जा दिएर स्थानीयलाई अन्यत्रै सारिएको हो भने केही सार्वजनिक जग्गा रहेको छ । ब्यक्तिहरुको र सार्वजनिक जग्गा गरि १ सय १२ रोपनी जग्गामा विमानस्थल फैलिएको छ । ७ सय मिटर लम्बाई र ९० मिटर चौडाइको धावन मार्ग रहेको विमानस्थल निमार्णका लागि अहिलेसम्म ११ करोड रुपैया खर्च भैसकको छ ।

विमानस्थल निमार्ण समितिका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार विमानस्थलको धावनमार्ग कालोपत्रे र अन्य सरंचना निमार्ण गर्नका लागि ८ करोडको पुन ठेक्का भई निर्माण कार्यले तीव्रता पाईरहेको बताए । उनले धावनमार्ग कालोपत्र गर्ने प्रक्रिया छिट्टै सकिने गरी काम भईरहेको पनि जानकारी दिए ।

रेसुङ्गा नगरपालिकाका प्रमुख भुसालले वर्षौदेखि गुल्मेलीहरुले देख्दै आएको विमानस्थलको सपना पूरा भएको बताउँछन् । विमानस्थल सञ्चालन आएपछि अव गुल्मीको पर्यटन क्षेत्रले थप फड्को मार्ने छ उनी भन्छन‘ जहाजको सफल परीक्षण उडानले गुल्मी जिल्ला लगायत छिमेकी जिल्ला अर्घाखाचीको विकासमा लागि ठूलो उपलब्धी हो ।’ रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निमार्ण भएको रेसुङ्गा विमानस्थलमा जहाज बसेपछि गुल्मेली लगायत छिमेकी जिल्ला अर्घाखाचीका नागरिकमा मरिसकेको आशा फेरि व्यूतिएको छ । विमानस्थलले गुल्मी, अर्घाखाची, पाल्पा, प्युठान, वाग्लुङ्गका बासिन्दालाई पनि सेवा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्