निर्मला प्रकरणमा प्रहरी फेरि असफल



काठमाडौं: कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका प्रदीप रावल बुधबार थुनामुक्त भएका छन्। भीमदत्तनगर नगरपालिका–१८ का १९ वर्षीय रावललाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले साधारण तारेखमा रिहा गर्न आदेश दिएका हुन्। ‘उनीमाथि लगाइएको अभियोग पुष्टि हुने नदेखिएपछि थुनामुक्त गर्न आदेश दिइएको हो। माघ १० गते प्रशासनमा उपस्थित हुन तारेख दिइएको छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भने ।

 

काठमाडौँको सुन्धारास्थित एउटा पसलमा काम गर्दै आएका रावलले घटना स्विकार्न प्रहरीले यातना दिएको गुनासो गरेका छन्। ‘घटना सकार्न भन्दै प्रहरीले मलाई पाइपले कुटेर यातना दिए’, उनले भनेका छन्, ‘घटना नस्विकारे जे पनि गर्ने धम्कीसमेत दिए, माइतीघरमा लगेर निर्मलाको हत्यारा भन्दै सार्वजनिक गर्ने भनेर हप्कीदप्की पनि गरियो ।’

 

गत मंसिर १८ गते काठमाडौँको महाराजगन्जबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँगको बयानमा घटना स्विकारेको दाबी गरेको थियो। चार पटकसम्म म्याद थप गर्दै हिरासतमा राखिएका प्रदीपविरुद्ध प्रहरीमाथि दुव्र्यवहार गरेको अभियोग सार्वजनिक हितविरुद्धको मुद्दा चलाएको थियो। उनलाई सीआईबीको टोलीले दिउँसोमा बयान लिएर राति महाराजगन्जको हिरासतमा राख्ने गरेको थियो ।

 

मंसिर १८ मा पक्राउ परेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि सीआईबीमा पुगेर रावलसँग सोधपुछ गरेका थिए। प्रहरी महानिरीक्षक खनालले घटना स्विकारे सजाय घटाउन सकिने भन्दै फकाउने कोसिस पनि गरेको उनले बताएका छन्। यातना दिने क्रममा प्रहरीले घटना नस्विकारे करेन्ट लगाउने, हिटरमा पिसाब फेर्न लगाउने र अझै चर्को यातना दिने जस्ता धम्की पनि दिएको उनको दाबी छ। तर, विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी रिहा हुने बाटो खुलेको थियो ।

 

प्रदीपकै बयानका आधारमा मंसिर २० गते कञ्चनपुरबाट पक्राउ गरी काठमाडौँ ल्याइएका १६ वर्षीय विशाल चौधरीको पनि निर्मलाको भजाइलन स्वाबसँग डीएनए मिलेको थिए। उनी यही शुक्रबार रिहा भएर घर पुगिसकेका छन् । विशालले आफूलाई घटना स्विकार्न भन्दै प्रहरीले यातना दिएको दाबी गरेका छन् । उनको परिवारले त्यसविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गरिसकेको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्