एमाले र माओवादीका नाममा सुविधा लिन्छन् सचेतक



पोखरा: गण्डकी प्रदेशको सबैभन्दा ठूलो संसदीय दल नेकपा हो। एकताअघि साविकको पूर्वएमालेका तर्फबाट मायानाथ अधिकारी र माओवादी केन्द्रबाट गायत्री गुरुङ सचेतकको भूमिका थिए। संसद्मा बोल्नेक्रममा दुवैजनाले नेकपाको प्रतिनिधित्व गर्छन, तर सुविधा भने दुईजनाले नै छुट्टाछुट्टै दलको तर्फबाट लिने गरेका छन् ।

 

गण्डकी प्रदेशसभाले बनाएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार दलका सचेतकले सवारीसाधन खर्च बापत मासिक १० हजार रुपैयाँ पाउने व्यवस्था छ । प्रदेशसभा स्थापनायता उनीहरू दुवैले सोही शीर्षकमा १०/१० हजार रुपैयाँ बुझ्दै आएका छन् । उनीहरूसँग सवारीसाधन छैन, तर दुईजनाले नै पारिश्रमिकबाहेक यो सुविधा लिँदै आएका छन् ।

 

यो सुविधा प्रदेशका चारवटा विषयगत समितिका सभापति र संसदीय दल नेपाली कांग्रेसका सचेतक मणिभद्र शर्माले पनि लिने गरेका छन् । नियमावलीअनुसार विषयगत समितिका सभापतिलाई सवारी सुविधा उपलब्ध हुने व्यवस्था छ । कात्तिकदेखि उनीहरुले सवारीसाधन पाए पनि त्यसभन्दा अगाडिको ८ महिनासम्म उनीहरूले १०÷१० हजार रूपैयाँका दरले ३ लाख २० हजार रुपैयाँ बुझेका छन्। विषयगत समितिमध्ये विधायन समितिमा मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा कुमार खड्का, अर्थ तथा विकास समितिमा दीपक कोईराला र प्रदेश मामिला समितिमा कृष्ण थापा सभापति छन्।

 

सभापतिहरूलाई २ करोडभन्दा महँगा गाडी

८ महिनासम्म सवारीसाधन नभए पनि सुविधा उपभोग गर्दै आइरहेका उनीहरूलाई कात्तिकदेखि संसद् सचिवालयले स्कोर्पियो गाडी उपलब्ध गराएको छ। सचिवालयले प्रतिगाडी ५५ लाखका दरले २ करोड २० लाख रुपैयाँमा चारवटा गाडी खरिद गरेको हो। नियमावली संशोधन सहित उनीहरुलाई सवारी चालकको समेत सुविधा दिइएको छ । अन्य प्रदेशसभा सदस्यले भने यातायात खर्चबापत प्रतिबैठक ७ सय ५० रुपैयाँ लिने गरेका नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्