को हुन् श्रीलंकाली राष्ट्रपति गोताबय ?



काठमाडौं : श्रीलंकाको इतिहासमै सबैभन्दा बढी ३५ जनाले प्रत्यक्ष रुपमा प्रतिस्पर्धा गरेका राष्ट्रिपतीय निर्वाचनमा ५२ प्रतिशतभन्दा बढी मत लिएर गोताबय राजापाक्षे राष्ट्रपति निर्वाचित भए । अपेक्षा गरिएभन्दा बढी प्रतिस्पर्धी भएकाले यो निर्वाचनमा पहिलो चरणमै कसैको पनि राष्ट्रपति हुन आवश्यक मत प्रतिशत आउन नसक्ने र दोस्रो चरणको निर्वाचन हुने आँकलन गरिएको थियो ।

तर यो आँकलनलाई पछाडि पार्दै गोताबय राजापाक्षे पहिलो चरणमै आवश्यक मत प्रतिशतभन्दा केही बढी मत लिएर विजयी भए । त्यसो त हालको लंकाली राजनीतिक परिदृश्यमा राजापक्षेका परिवारलाई प्रतिष्ठित राजनीतिक परिवारका रुपमा लिइन्छ । नवनिर्वाचित राष्ट्रपति राजपक्षेको परिवारलाई श्रीलङ्काको राजनीतिमा प्रभावशाली राजनीतिक केन्द्र मानिन्छ । यही राजनीतिक प्रभावले गोताबय राजापाक्षेलाई यति धेरै प्रतिस्पर्धीका बीचमा पनि पहिलो पटक नै विजय हुन सहज बनाएको हो ।

गोताबयका बाबु श्रीलङ्काका सांसद तथा मन्त्री थिए । यही विरासतलाई पछ्याउँदै उनका दाई महिन्दा राजपक्षे दुईपटक श्रीलङ्काको राष्ट्रपति भएका थिए । उनको परिवारका दुई सदस्यहरु पनि राज्यको उच्च ओहदामा कार्यरत थिए ।

सन् १९४९ मा जन्मिएका गोताबय राजपक्षे परिवारका नौमध्ये पाँचौं सन्तान हुन् । सुरुमा १९७१ ताका सेनामा भर्ती भएका उनी २० वर्षको सैन्य सेवा गरेपछि सूचनाप्रविधिको क्षेत्रमा प्रवेश गरे । सन् १९९८ मा उनको परिवार अमेरिका बसाई सर्यो ।

देशमा गृहयुद्ध पनि चलिरहेको थियो । दाजु महिन्दा राजपक्षे राष्ट्रपति बनेपछि सन् २००५ मा उनी स्वदेश फर्किएर रक्षासचिवको जिम्मेवारी लिई पाँच वर्षसम्म क्रियाशील भूमिकामा रहेका थिए । राजपक्षे दाजुभाई मिलेर तामिल पृथकतावादीले सुरु गरेको गृहयुद्ध समाप्त गर्ने सैन्य अभियान यसैबेला सञ्चालन गरिएको थियो ।

एकलाख श्रीलंकालीहरुको ज्यान गएको निरन्तर २५ वर्षसम्म चलेको गृहयुद्धमा प्रत्यक्ष भूमिकामा रहेका तात्कालिन रक्षासचिव गोताबय राजपक्षे त्यही योगदानका कारण श्रीलङ्काको नयाँ राष्ट्रपति निर्वाचित हुन पुगेका छन् । राजापक्षे चीनसँगको सम्बन्ध सुधार गर्ने पक्षमा देखिन्छन् ।

श्रीलंकामा तमिल विद्रोहको अन्त्य भारतका लागि एक ठूलो झड्का थियो । त्यसपछि पनि भारतले आफ्नो पकड जमाउन निरन्तर पहल गरिरहेको छ । श्रीलंकाली राष्ट्रपतीय निर्वाचनको राजनीतिक वातावरणको पूर्वांकलन गरी चतुर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई अग्रिम बधाई दिइसकेका थिए ।

निर्वाचन प्रचारका क्रममा राजापाक्षेले चीनसँगको सम्बन्ध सुधारमा जोड दिँदै गर्दा उनका प्रमुख प्रतिद्वन्द्वी सजिथ प्रेमदासाले भारत र अमेरिकासँगको सम्बन्ध विस्तार गरिने कुरामा जोड दिएका थिए । राम्रो कुरा त यो पनि भयो कि आफू पराजय हुने वित्तिकै कुनै लफडा नगरिकन पे्रमदासाले मत परिणाम स्वीकार गरी राजनीतिक संस्कार देखाए ।

तर विगतमा साम्प्रदायिकतामा गिजोलिएको श्रीलंकामा मत परिणाम पनि त्यसरी नै विभाजित भएको देखा परेको छ । राजपक्षेले सिंहाली बाहुल्य क्षेत्रमा अत्यधिक मत ल्याएका छन् भने सजिथ प्रेमदासले तामिल बाहुल्य क्षेत्रमा राम्रो मत ल्याएका छन् । यसले श्रीलंकालाई साम्प्रदायिकताको सीमा रेखाले अझैं पनि पछ्याइरहेको प्रष्ट रुपमा देखाउँछ ।

श्रीलंकामा तमिल–सिंहाली गृहयुद्ध केही समयका लागि मत्थरजस्तो देखिए पनि यो भित्रभित्र बलिरहेको संकेत निर्वाचनहरु मार्फत अभिव्यक्त जनमतमा नयाँ रुपमा देखा परिरहेका छन् । यसका साथै पछिल्लो चरणमा आतंकवादको नाममा बम विस्फोटका घटनाहरु घटाइएका थिए । यो शायद यही राष्ट्रपतीय निर्वाचनलाई असर पार्नका लागि लक्षित थियो । तर जनताको मत परिणाम भने त्यस घटनाविरुद्ध अभिव्यक्त भएको देखिन्छ ।

श्रीलङ्कामा गरिएका यस्ता हिंसात्मक बम विस्फोटनका घटनाहरु इस्लामिक स्टेट समूहको नाममा गराइएका थिए । तर यी घटनाहरु प्रायोजित भएको श्रीलंकाली राजनीतिक विश्लेषकहरुको दह्रो दाबी रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्