खानेपानीको माग गर्दै गाउँपालिका कार्यालयमा तालाबन्दी



रुकुम, पश्चिम :  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले बुधवार बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । 

 

विसं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् । लाइन जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पूरा नभएपछि कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । अब गाउँमा खानेपानीको आपूर्ति नियमित नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताए । 

 

लिखित तथा मौखिक निवेदन र गाउँपालिकामा धर्ना दिँदा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ छ । गाउँपालिकाले हिजाे भएको छलफलमा खानेपानीको आपूर्ति नियमित गरिदिने मौखिक प्रतिबद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो । 

 

तर स्थानीयले भने खानेपानीको आपूर्ति सुचारु नभएसम्मका लागि आन्दोलन फिर्ता नहुने अडान लिँदै गाउँपालिका कार्यालयमै तालाबन्दी गरेका हुन् । वडा नं २ कै चिन्छरे टोलका स्थानीयले बेतखोलामा आएको पाइप काटेर खानेपानीको आपूर्ति बन्द गरिदिएको बेतखोलाका स्थानीयवासीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्