भारतीय प्रधानमन्त्रीका दूत सुटुक्क नेपालमा



काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले होटल म्यारियटमा बसेका श्यामशरण नेपालका अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद चुलिएका बेला नेपाल आएका हुन् । उनी सीमा–समस्या हल गर्नका लागि कुटनीतिक प्रयास थालनी गर्न भारतीय प्रधानमन्त्री मोदीको दूतका रुपमा नेपाल आएका हुन् ।

भारतले राजनीतिक नक्सामा कालापानी क्षेत्रलाई समेत आफ्नो भूभागभित्र राखेर सार्वजनिक गरेपछि त्यसप्रति नेपाली पक्षबाट तीव्र असन्तुष्टि प्रकट गर्दै उक्त भूभाग तुरुन्त छाड्न भनिरहेका बेला श्यामशरणले नेपाल आई प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै मधेसकेन्द्रित दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने भएका छन् ।

नेपाली राजनीतिका जानकार उनी औपचारिक तथा अनौपचारिक भ्रमणमा नेपाल आइरहन्छन् । १२–बुँदे दिल्ली सम्झौताका डिजाइनर श्यामशरणलाई सीमा समस्या समाधानका लागि भरपर्दो सूत्रका रुपमा नेपाल पठाइएको दिल्लीको ठहर छ ।

श्यामशरणको आगमनकै बेला पारेर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएकाले कालापानीमा रहेको भारतीय सेना तत्काल फिर्ता लैजान अनुरोध गरेका छन् । राज्यसत्ताका प्रमुखका हैसियतले यसरी दृढता व्यक्त गरेपछि भारतीय पक्ष निकै तनावमा परेको छ ।

यही तनाव र समस्या समाधानका लागि श्यामशरण नेपाल कुदेको देखिन्छ । कालापानीबाट भारतीय सेना हटाउन भारतमाथि भारतभित्रैबाट र अन्तर्राष्ट्रियबाट ठूलो दवाव सिर्जना हुँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्