इराकमा अमेरिकी सैनिकसँग मनाए ट्रम्पले क्रिसमस



काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको अवसरमा इराकमा रहेका अमेरिकी सैनिकसँग भेट गरेका छन् । राष्ट्रपति ट्रम्प पूर्व निर्धारित कार्यक्रमविना इराक पुगेका हुन् । क्रिसमसको दिन अबेर राति उनी  इराक पुगेर त्यहाँ रहेका अमेरिकी सैनिकलाई क्रिसमसको शुभकामना दिएका थिए ।  

 

उनी एयरफोर्स वन बिमानमा चढेर इराकको राजधानी बग्दादको पश्चिममा रहेको अल असद एयरबेसमा ओर्लिएका थिए । उनी तीन घण्टा सम्म सैनिकहरुसँगको भलाकुसारीमा सामेल भए । उनले सैनिकहरुलाई अटोग्राफ दिनुका साथै सेल्फीपनि खिचेका थिए ।

 

उनीसँगै प्रथम महिला मेलानिया ट्रम्प र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनपनि थिए । उनले त्यहाँ रहेका आफ्ना सैनिक अधिकारीहरुसँग कुरा गर्दै इराकबाट अमेरिकी सेना फिर्ता गर्ने कुनै योजना नरहेको बताए । उनले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने प्रसंगको भने बचाव गरेका थिए ।

 

उनी इराकमा कार्यरत सैनिकले  गरेको सेवा, सफलता र बलिदानको लागि धन्यबाद दिन गएको ह्वाइट हाउसले जनाएको छ । समाचार संस्था रोयटर्सले त्यसक्रममा ट्रम्पले इराकबाट अमेरिकी सैनिक हटाउने कुनै योजना नभएको बताएका थिए ।

 

मध्यपूर्वको रणनीतिमा मतभेद भएर केही दिन अघि रक्षामन्त्री जेम्स म्याटिसले राजीनामा दिएलगत्तै राष्ट्रपति ट्रम्पको यो भ्रमण भएको हो । इराकमा अहिले पनि अमेरिकाका करिव ५ हजार सैनिक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्