सलाम नगर्ने सैनिकको यसरी भयो जागिर चट्




काठमाडौ । नेपाली सैनिकमा अनुशासनलाई कडाईका साथ हेरिन्छ । अनुशासनहीन आफ्ना कर्मचारीलाई सेनाले बर्खास्तीदेखि पद घटुवा सम्मको बारबाही चलाउने गरेको छ । अझ प्रधान सेनापति पूर्णचन्द्र थापा नेपाली सेनाको प्रमुख भएपछि सेनालाई अनुशासित बनाउन पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका नै तयार पारेका छन् ।

अनुशासनहीन कर्मचारीलाई तह लगाउन प्रधानसेनापति थापाले जस्तोसुकै कदम चाल्न तयार रहेको सार्वजनिक रुपमै बताएका थिए । यस्तै कारबाहीमा बैशाख यता ३० जना कारबाहीमा परेको सैनिक मुख्यालयले जनाएको छ । सैनिक मुख्यालका अनुसार आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरिएको हो । उनीहरूलाई सैनिक नियमअनुसार अनुशासनविपरीत आचरण गरेको भन्दै सचेत गराइएको मुख्यालयले जनाएको छ ।

सैनिक मुख्यालय श्रोतका अनुसार सरकारी सेवाका लागि ११ जना अन्य दर्जाका सैनिक अयोग्य ठहरिएका छन् । अयोग्य ठहरिएर कारबाहीमा परेकाहरूले भविष्यमा कुनै पनि सरकारी सेवामा प्रवेश नपाउने भएका छन् । यस्तै, ६ वर्षको अवधिमा १ हजार ७ सय २९ जना सैनिक भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारबाहीमा परेका छन । यी शीर्षकमा कारबाहीमा पर्नेमा उच्च तहका ३३, पदिक १८ र १ हजार ५ सय ७८ जना अन्य दर्जामा कार्यरत सैनिक रहेको मुख्यालयले जनाएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार नेपाली सेनाको आफ्नै नियमकानुन रहेको र सैनिक नियमको उल्लंघन गर्नेहरू उपरकारबाहीमा परेको बताए । उनले सलामी नगर्ने सैनिकहरूलाई भविष्यमा त्यसो नगर्ने गरी सचेत गराइएको बताएका छन् ।

सैनिक मुख्यालयका अनुसार ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ भने नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको छ ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरीत काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबर्जस्ती करणी, चोरी, ठगी, लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा सवारी दुर्घटनादेखि आर्थिक अनियमिततामा मुछिएका सैनिकसमेत रहेका छन् ।

यसरी कारबाहीमा परेकामध्ये विभिन्न पदमा रहेका २ सय २२ जनाको घटुवा भएको छ । घटुवामा पर्नेमा उच्च तहका नौ जना सैनिक अधिकृत छन् भने पदिक ६ जना र अन्य दर्जाका २ सय ७ जना रहेको छ । यस्तै ७ सय ५३ जनाको यस बीचमा बढुवा रोक्का भएको छ । बढुवा रोक्का हुनेमा २६ जना उच्च तहका तथा ८ पदिक र ७ सय १९ जना अन्य दर्जाका सैनिक छन् ।

प्रतिक्रिया दिनुहोस्