पाकिस्तानका वरिष्ठ राजनीतिज्ञको गोली हानी हत्या



इस्लामावाद: पाकिस्तानी राजनीतिक पार्टीका एकजना वरिष्ठ सदस्यलाई बुधबार गोली हानेर हत्या गरिएको छ । इसाईहरुको महान् पर्व क्रिसमसको दिन कराँची शहरस्थित आफ्नै निवासबाहिर ४६ वर्षीय सयद अली राजा आविदीलाई आक्रमणकारीहरुले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

विगतमा आविदीले धार्मिक पार्टी मुत्ताहिदा काउमी मुभमेन्ट–पाकिस्तान एमक्यूएम–पी को नेतृत्व गरेका उनले गत सेप्टेम्बरमा निजी कारण देखाउँदै सो पार्टीबाट राजीनामा दिएका थिए।यसै साता सवारी साधनमा आएर गोली हानेर गरिएको यो दोस्रो राजनीतिक हत्या हो।

 

आइतबार पनि कराँचीमा पाक सारजमिन पार्टी पीएपी का दुईजना सदस्यको गोली हानेर हत्या गरिएको थियो। बाहिरबाट घर आइपुगेका आविदीलाई अज्ञात व्यक्तिहरुले कारभित्रै अन्धाधुन्ध गोली प्रहार गरेका थिए। हमलापछि आक्रमणकारीहरु मोटरसाइकल चढेर भागेका थिए।

 

उपचारका क्रममा आविदीको अस्पतालमा मृत्यु भएको हो। कराँची प्रहरी प्रवक्ताले डन डट कमलाई बताएका छन्– ‘यस आक्रमणको उद्देश्य स्पष्ट हुन सकेको छैन। यो राजनीतिक, व्यक्तिगत वा धार्मिक विषय पनि हुन सक्छ। त्यसैले सबै कोणबाट अनुसन्धान भइरहेको छ।’एक विज्ञप्ति जारी गर्दै एमक्यूएमले भनेको छ– ‘आविदीको जघन्य हत्या पाकिस्तानी सैनिक संगठनको राजनीतिक पार्टीमाथि दमन गर्ने नीतिको एक अंश हो।’ राष्ट्रपति आरिफ अल्भीले आफ्नो असल मित्र गुमेको भन्दै हत्याकाण्डको भत्सर्ना गरेको छ।

प्रतिक्रिया दिनुहोस्