ए डिभिजन लिग : दुई खेलअगावै उपाधि जित्ने दाउमा मनाङ



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज मनाङ मर्स्याङ्दी क्लबले लिग चरणको एघारौ खेलमा संकटा क्लबसंग प्रतिस्पर्धा गर्दैछ । एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा मनाङले संकटालाई हराउन सके कीर्तिमानी आठौ पटक उपाधि जित्नेछ । 

लिगको रोमाञ्चकतालाई अन्तिम सम्म बचाई राख्ने जिम्मेवारी संकटाको काँधमा छ । आजको खेलमा संकटाको जित हात पारे लिगको रोमाञ्चकता अन्तिम खेलसम्म जान सक्छ । त्यसले संकटाको लिग जित्ने गणितिय सम्भावना समेत बाँकी रहनेछ ।

मनाङ १० खेलबाट ३० अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।

घरेलु फुटलबको सर्वाधिक सफल क्लब हो, मनाङ । उसले कीर्तिमानी ७ पटक उपाधि जितेको छ ।

मनाङ फेरी एक कीर्तिमानी सफलताको नजिक छ । पाँच बर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक छ । ३ अंक जोड्न सके मनाङले दुई खेल अगावै प्रतियोगिताको सबै रोमाञ्चकता आफ्नो सफलतामा कैद गर्नेछ ।

आजै हुने पहिलो खेलमा विभागीय टिम एपीएफ र च्यासल युथ क्लब भिड्नेछन् । खेल बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्