बिल गेट्स विश्वका १ नम्बर धनी



काठमाडौं : माइक्रोसफ्ट कम्पनीका संस्थापक ६४ वर्षीय बिल गेट्स पुनः संसारकै सबैभन्दा धनी व्यक्ति बन्न पुगेका छन् । विगत २ वर्षमा उनी दोस्रो स्थानमा झर्न पुगेका थिए । त्यतिबेला उनलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोसले सबैभन्दा धनी बन्ने अवसर पाएका थिए ।

यो अवसरसँगै बेजोसको घरायसी लफडा सुरु भयो । उनकी श्रीमतीले उनीसँग सम्बन्ध बिच्छेद गरिन् । सम्बन्ध बिच्छेद जाँदा उनकी श्रीमतीले बेजोसको कूल सम्पत्तिको २५ प्रतिशत लिएर गइन् । यो रकम ३५ अर्ब डलरको थियो ।

भनिन्छ यदि बेजोसले यो रकम श्रीमतीलाई दिनु नपरेको भए बेजोस नै १ नम्बरका धनी हुने थिए र उनको सम्पत्ति हाल १ सय ४४ अर्ब डलर हुने थियो । यो भनेको बिल गेट्सको सम्पत्तिभन्दा निकै बढी हो ।

हाल बेजोसको सम्पत्ति १ सय ९ अर्ब अमेरिकी डलर वा १ सय २४ खर्ब २६ अर्ब डलर रहेको छ । बिल गेट्सको सम्पत्ति भने १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ । माइक्रोसफ्टको शेयर पछिल्लो समय बढेकाले गेट्सलाई फाइदा पुगेको बताइन्छ ।

विश्वकै धनी व्यक्तिको तेस्रो सूचीमा परेका छन्, फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट । उनको सम्पत्ति १ सय ३ अर्ब अमेरिकी डलर रहेको छ । चौथो नम्बरमा रहेका वारेन वफेको सम्पत्ति ८६ अर्ब डलर बराबर छ । चर्चित सामाजिक सञ्जाल फेसबुकका सीईओ मार्क जुकरबर्गसँग हाल ७५.५ अर्ब डलर सम्पत्ति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्