तनावमा मन्त्रीहरु : कोही डेरा खोज्दै, कोही दबाब दिदै



काठमाडौं : मन्त्रीपरिषद पुनर्गठन गर्न शिर्ष नेता आन्तरिक गृहकार्यमा जुटेका छन् । उता दिनहुँ मन्त्री फेरिने समाचार आईरहने तर मन्त्रीमण्डल पुर्नगठन नहुँदा मन्त्रीहरु तनावमा परेका छन् । कतिपय मन्त्रीहरु हट्ने नहट्ने टुङ्गो नलागेपनि आफ्ना सहयोगीहरुमार्फत डेरा खोज्न थालिसकेका छन् ।

एक मन्त्रीले द नेपाल टप डट कमसँग कुरा गर्दै दिनहुँ आईरहने समाचारले आफूहरुलाई तनावमा पारेको बताउदै मन्त्रीमण्डल छिट्टै पुर्नगठन गरेमा वारपार हुने बताए । कतिपय मन्त्रीहरुले डेरा सर्ने मनस्थिति बनाईरहँदा हट्ने भनेर चर्चामा रहेका कतिपय मन्त्रीहरु भने खुमलटारदेखि बालुवाटारसम्म पुगेर नहटाउन दबाब दिईरहेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हिजो (आईतबार) सम्पन्न सचिवालय बैठकले मन्त्रीपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएपछि आन्तरिक गृहकार्यलाई नेताहरुले तिब्र बनाएका छन ।

आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार निवासमा मन्त्रीपरिषद पुनर्गठनको बारेमा छलफल गरेका छन् । छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि थिए । यस्तै उर्जा मन्त्री एवं स्थायी कमिटीका सदस्य बर्षमान पुन, भौतिक योजना तथा स्थाीय कमिटीका सदस्य रघुवीर महासेठ लगायतको सहभागिता बैठकमा रहेको थियो ।

उता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले समेत आन्तरिक गृहकार्यलाई तिब्र बनाएका छन् । ओलीले हालका केही मन्त्री सचिवालय तथा स्थायी कमिटीका केही सदस्यहरुलाई राखेर छलफल गरेका छन् ।

केही समय अघि ओलीले प्रचण्ड, नेपाललाई मन्त्रीपरिषद पुनर्गठनको बारेमा छलफल गरेका थिए । त्यस अघि ओलीले सचिवालयका नेताहरु बामदेव गौतम, उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री एवं स्थायी कमिटीका सदस्य प्रदिप ज्ञवाली लगायतकासंग पुनर्गठनको बारेमा छलफल गरिसकेका छन् ।

ओली र प्रचण्डले आन्तरिक गृहकार्य गरिसकेपछि आजै बेलुका दुई अध्यक्षको छलफल बालुवाटारमा हुने प्रचण्डको सचिवालयले जनाएको छ । बेलुका बस्ने दुई अध्यक्षको बैठकले मन्त्रीपरिषद पुनर्गठनको अन्तिम टुंगो लगाउँनेछ । सम्भवत भोली (मंगलबार) सम्ममा मन्त्रीपरिषद पुनर्गठन हुने नेकपा स्रोतले जनाएको छ ।

सरकारको काम प्रभावकारी, जनमुखी तथा नतिजामुखी बनाउँन मन्त्रीपरिषद पुनर्गठन हुदैछ । पार्टी र जनस्तरबाट सरकारको काम बारे असन्तुष्टि आएपछि प्रधानमन्त्री ओलीले मन्त्रीपरषद पुनर्गठन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले अहिले मन्त्रीमण्डलमा रहेका उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ हटाउने तयारी गरिरहेको बालुवाटार श्रोतले जनाएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाललाई निरन्तरता दिने बताइन्छ ।

यसैगरी पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेतलाई पनि निरन्तरता दिने चाहना राखेका छन् । शिक्षा मन्त्री पोखरेलसँग ट्यूनिङ नमिलेपनि आन्तरिक समिकरणका कारण प्रधानमन्त्री ओली सकारात्मक रहेको बताइन्छ ।

मन्त्रीमण्डलमा आउने सम्भावित मन्त्रीको लिस्टिङ पनि प्रधानमन्त्री ओलीले तयार पारेका छन् । जसमा नेकपाका नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नी सापकोटा, प्रभु साह, खजराज अधिकारी, महेश बस्नेतको नाम चर्चामा छन् । त्यस्तै उपसभामुख शिवमाया तुम्वाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, र हृदयश त्रिपाठी रहेका छन् ।

यता आफूहरुलाई हटाउने विषयमा मिडियामा निरन्तर समाचार आएपछि मन्त्रीहरुले डेरा खोजिरहेका छन् । केही मन्त्रीले डेरा खोजेर सामान सार्ने तयारी समेत गरेका छन् ।

तत्काल नै नयाँ मन्त्री नियुक्त गर्ने भएकाले हट्ने चर्चामा रहेको तीन चारजना मन्त्रीले डेरा खोजिरहेका छन् । मन्त्रिमण्डल हेरफेर हुने चर्चाले मन्त्रीहरूमा त्रास बढ्ने मात्र नभई मन्त्रालयको कामकारवाहीमै प्रभाव पर्ने कतिपय कर्मचारीहरूको दाबी छ । फेरिने हल्ला चलेका मन्त्रीहरूलाई सचिवले टेर्लान् त भन्ने प्रश्नमा एक सचिवले भने, ‘टेर्ने नटेर्ने प्रश्न त हुँदैन, सबैले आफ्नो–आफ्नो काम गर्ने हो तर केही मनोवैज्ञानिक असर भने पर्छ ।

आफू जाँदैछु भन्ने थाहा पाएपछि मन्त्रीले पनि आफ्नो स्वार्थका कामहरू फटाफट गर्ने प्रचलन नेपालको हकमा देखिएकै हो । अनि मन्त्रीकै वरिपरि हुनेहरूले पनि आफ्नो स्वार्थ अनुकूल काम अघि बढाउन दबाब दिन्छन् । केही मन्त्रीले महिनौंदेखि आफूहरू हट्ने चर्चा चलेको भन्दै त्यसले मनोवैज्ञानिक त्रास सिर्जना भएको दुखेसो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्