भन्सारमा दस्तुरी प्रथा कायमै,अर्थमन्त्रीलाई भन्सार प्रमुखले दिए काउन्टर



विराटनगर : राजस्व प्रशासनमा जति सुधार गर्न खोजिए पनि भन्सार कार्यालयमा दस्तुरी प्रथा अझै कायम रहेको व्यवसायीहरुले बताईरहँदा विराटनगर भन्सारका नवनियुक्त प्रमुख शिव भण्डारीले भने सरकारले पर्याप्त अध्ययन र विश्लेषण नगरी राजस्वको लक्ष्य तोकेको हुँदा प्रगति हासिल हुन नसकेको कुरा बताएका छन् । भन्सार तिर्ने र लिनेबीच भईरहेको यो संवाद सुन्दा सबै कुरा मिलिभगतमा भईरहेको प्रस्ट देखिन्थ्यो ।

मोरङ व्यापार संघले विराटनगर भन्सार र आन्तरिक राजस्व कार्यालयका प्रमुखलाई गरेको स्वागत कार्यक्रममा प्रमुख भण्डारीले राजस्वको लक्ष्य तोक्दा पर्याप्त अध्ययन र विश्लेषण नगरिएको टिप्पणी गरे । यो टिप्पणी भन्सार प्रमुखका हैसियतमा भण्डारीले अर्थमन्त्री युवराज खतिवडालाई दिएको काउन्टरका रुपमा लिइएको छ ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष खेमचन्द जैनले भन्सारमा दस्तुरी प्रथा कायम रहेको खुलासा गर्दै भने – ‘व्यापारिक प्रयोजनका लागि धेरै पैठारी गरिने मालवस्तुमा प्रत्येक कन्टेनरमा ५० हजारका दरले दस्तुरी असुल गरिने प्रथा विराटनगर भन्सारमा अझै विद्यमान छ, ‘राजस्व प्रशासनमा सुधारका ठूलाठूला कुरा गरिन्छन् तर दस्तुरी प्रथा अझै कायम राखिएको छ ।’

अर्का पूर्व अध्यक्ष शङ्करलाल अग्रवालले ‘कुनै पनि मालवस्तुको एलसी खोल्दा एउटा मूल्याङ्कन, भन्सार विन्दुमा आइपुग्दा अर्को र माल बेचिसकेर आयकर तिर्दा झन् अर्को मूल्याङ्कन हुनुले व्यावसायिक वातावरण सखाप भएको बताउदै यसले व्यवसायी हत्तोसाहित भएको उल्लेख गरे ।

आइतबार अर्थमन्त्री खतिवडाले धेरै कर भएको व्यवसायीको गुनासोमा ऋणमुक्त गर्न करको दर बढाएको बताएका थिए । उनकामे जोड थियो– ‘मलाई कुनै लोकप्रिय कार्यक्रमको पछि कुद्नु छैन । मैले मन्त्री पद छोडेको दिन देश ऋणमुक्त भयो भन्ने पार्नु छैन, मैले गर्न खोजेको देशको सकारात्मक आर्थिक वृद्धि हो ।’

प्रमुख भण्डारीले नीतिगत तहमा ठूलो ग्याप रहेको चर्चा गर्दैै होसियारी र चलाखीपूर्ण नीति निर्माण गरिएन भने नेपालको अर्थतन्त्र कुनै पनि बेला जे पनि हुनसक्ने सङ्केत गरे ।

व्यापारिक प्रयोजनका लागि धेरै पैठारी गरिने मालवस्तुमा प्रत्येक कन्टेनरमा ५० हजारका दरले दस्तुरी असुल गरिने प्रथा विराटनगर भन्सारमा अझै विद्यमान रहेको छ । तर राजस्व प्रशासनमा सुधारका ठूलाठूला कुरा गरिन्छन्, तर दस्तुरी प्रथा अझै कायम राखिएको छ ।

वास्तविक मूल्यमा मालवस्तु मगाउँदा त्यसको मूल्याङ्कन बढाउने र जरिवानासमेत असुल गर्ने भन्सारको परिपाटीले व्यावसायिक क्षेत्र निरास भएको हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्