अफगानिस्तानको काबुल सैनिक केन्द्रमा ग्रिनेड आक्रमण



एजेन्सी : अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान सैनिक तालिम केन्द्रको मूल प्रवेशद्वारमा दुई वटा ग्रिनेड प्रहार गरिएको अफगान सेनाले जनाएको छ । अज्ञात व्यक्तिले गरेको उक्त आक्रमणबाट कम्तीमा चार जना अफगान सैनिक र एक जना सर्वसाधारण घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नसत राहिमीले शुरुमा आत्मघाती हमलाको शंका गरिए पनि अनुसन्धानबाट दुई वटा हाते ग्रिनेड फालेको पत्ता लागेको जानकारी दिए ।

उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । अफगानिस्तानका विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटले अफगान सैनिक र सरकारी कार्यालयलाई लक्षित गरी नियमित रुपमा आक्रमण गरिरहेको पाइन्छ । काबुलमा केही दिन अघिमात्र सुरक्षा कार्यालयलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा १२ जनाको मृत्यु भएको थियो ।

अफगान राष्ट्रपति अश्रफ घानीले गत साता तीन जना प्रमुख तालिबान नेताहरुलाई बिनाशर्त रिहा गर्ने घोषणा गरेका थिए तर पछि उनीहरुलाई फेरि आवश्यक प्रक्रिया बाँकी रहेको भन्दै कारागारमै फिर्ता लगिएको थियो । यी तीन जना विद्रोहीलाई तालिबान समूहले कब्जामा राखेका काबुलस्थित अमेरिकन विश्वविद्यालयका दुई प्राध्यापकको रिहाईको बदलामा मुक्त गर्न खोजिएको थियो ।

यी दुई प्राध्यापकलाई सन् २०१६ मा तालिबानले अपहरण गरेको थियो । रिहा गर्न लागिएका तालिबानका एक नेतामा तालिबानका उपप्रमुख सिराजुद्दीन हक्कानीका भाइ अनास हक्कानी पनि रहेका छन् । सिराजुद्दीनले अफगानिस्तानको लडाकू समूह हक्कानी नेटवर्ककको पनि नेतृत्व गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्