प्रदेश २ : जनकपुरमै घर भए पनि घरभाडा छोडेनन् सांसदले



जनकपुरधाम: प्रदेश नं. २ को अस्थायी मुकाम जनकपुरमै घर भएका केहि प्रदेश सांसदहरुले प्रदेशसभा सचिवालयबाट घरभाडा बुझ्ने गरेका छन् । उनीहरुको जनकपुरमा आफ्नै घरमा बसे पनि घरभाडा वापत सरकारी सुविधा लिने गरेका हुन् ।

 

कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवको घर जनकपुरमै रहेतापनि उनले घरभाडाबापत प्रदेश सभाबाट प्रत्येक महिना १८ हजार रकम लिने गरेका छन् । संसदीय दलका नेता, सत्तापक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई प्रदेश सभा सचिवालयले मासिक १८ हजार आवास सुविधा दिँदै आएको छ ।

 

यादवसहित १४ प्रदेश सांसदले जनकपुरमा घर भएर पनि प्रदेश सभाबाट घरभाडा रकम बुझ्ने गरेका छन्  । सांसदहरूले घरभाडाबापत प्रतिमहिना १५ हजार रुपैयाँ पाउने व्यवस्था छ ।

 

जनकपुरमै घर भएर पनि घरभाडा लिने प्रदेश सांसदहरुमा राजपाका सुरिता साह, ज्यनुल राइन, रिना यादव, जानकीशरण साह र परमेश्वर साह, कांग्रेसका मञ्जुकुमारी यादव, सरस्वती चौधरी, प्रमिला दास र शिवचन्द्र चौधरी, नेकपाका रामचन्द्र मण्डल र किशोरी साह, संघीय फोरमका कौशल यादव र रामआशिष यादवले प्रदेश सभाबाट रकम बुझ्ने गरेका हुन् । 

 

जनकपुरआसपासका जिल्लाका केही सांसद घरबाटै संसद् ओहोरदोहोर गर्छन् । उनीहरूले पनि घरभाडा रकम बुझ्ने गरेका छन् । प्रदेश २ सभामा एक सय ७ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्