मेचीनगर:  चराहरुको स्वर्ग बन्दै



झापा: झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहेका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताए ।

 

धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा छ । नेपालमा ९०० प्रकारका चरा पाइएकामा २५० प्रकारका चरा झापाको मेचीनगरमै पाइने उनको भनाइ थियो । विशेषज्ञ खरेलका अनुसार मेचीनगर–३ मा रहेको बहुवन सामुदायिक वन र बेँसीबजार क्षेत्र चराको राजधानी नै हो ।

 

मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरु भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको उनले बताए । चराका लागि मेचीनगर अनुकूल बासस्थान भएकाले पाहुना चरा आउने क्रम पनि बढेको छ । मेचीनगरलाई ‘चरा मार्न निषेधित क्षेत्र’ घोषणा गरेर चरा महोत्सव आयोजना गर्ने हो भने यहाँ विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि आउने सम्भावना रहेको विशेषज्ञ खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्