बिना शिर्षक ५ लाख निकालेपछि बिपी प्रतिष्ठानमा खैलाबैला



धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिना शीर्षकमा ४ लाख ८० हजार रुपैयाँ निकासा भएको पाइएको छ। उक्त रकम प्रतिष्ठानका निर्देशक डा गौरीशंकर साहको हस्ताक्षर रहेको चेकबाट निकालिएको छ।

गत भदौ १९ गते सनराइज बैंकबाट बिना काम र बिना आधार सुमसेन थापाको नाममा काटिएको चेक भदौ २७ गते सनराइज बैंक सिरहाको मिर्चैया शाखाबाट साटिएको छ।

असार २६ मा उपकुलपति राजकुमार रौनियार ८ लाख घुससहित रंगेहात पक्राउ परेपछि रेक्टर डा गुरुप्रसाद खनाल कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा छन्।

रौनियारसँग नजिक भएर काम गर्दै आएका अस्पताल निर्देशक साहबाट पनि खनालले निर्देशकसँग भएको आर्थिक कारोबारको अधिकार आफैंले लिएका छन्। साउन ३० गतेदेखि पत्र पठाएर आर्थिक कारोबार नगर्न उपकुलपति खनालले निर्देशन दिएका थिए।

चेकमा भदौ १९ गते नै निर्देशक साहले हस्ताक्षर गरेको देखिएको प्रहरीको भनाइ छ। अधिकार नै कटौती भएको समयमा चेक जारी भएको देखिएकोले घटना रहस्यमय बनेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुन्डिराज न्यौपानेको भनाइ छ।

सुमसेन थापाले सनराइज बैंकको खाता नं ००३१०२५१४७७०१८ बाट चेक नं ५४०२११० मार्फत रकम निकालेका छन्। थापा प्रतिष्ठान बाहिरका डाक्टर हुन्।

उक्त रकम केको लागि भुक्तानी भएको भन्ने कुनै विवरण प्रतिष्ठानको लेखा शाखामा रेकर्ड छैन। बिपी प्रतिष्ठानका सहप्रवक्ता अशोक ऐरका अनुसार प्रहरीले थप अनुसन्धान गरिरहेकोले यसै भन्न सक्ने अवस्था छैन। कुनै पनि भुक्तानी दिनुपर्दा के प्रयोजनका लागि दिएको हो भन्ने टिप्पणी उठाउनुपर्ने हुन्छ तर त्यो नदेखिएको उनको भनाइ छ।

घटनापश्चात् कात्तिक ६ गते कार्यवाहक उपकुलपति खनालले निर्देशक साहलाई पत्रमार्फत स्पष्टीकरण सोधेका थिए। साहले कात्तिक १४ गते पत्रको जवाफ पठाएका थिए। जवाफमा साउन ३० गते नै आर्थिक कारोबार बन्द भई बैंक हस्ताक्षर नै परिवर्तन भइसकेको अवस्थामा आफ्नो हस्ताक्षरमा गएको चेकबारे अनुसन्धान गर्न उनले माग गरेका थिए। उनले उपकुलपति खनाललाई कुनै कागजात बिना चेक सदर गर्ने लेखा शाखा र बैंकको अनुसन्धान गर्न उनले माग गरेका छन्। आफूलाई फसाउने नियतले यो सबै भएको उनको भनाइ छ।

घटना बाहिर आएपछि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय धरान, राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा उजुरी दिएको बताएका छन्।

कात्तिक १८ गते दर्ता नं ६११८३६ मा उनको उजुरी दर्ता भएको छ। त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पनि कात्तिक २१ गते छानबिनका लागि दिएको निवेदनको दर्ता नं १०३७ मा दर्ता भएको छ।

फर्जी चेकको बारेमा थाहा पाएपछि छानबिनका लागि प्रहरीलाई जिम्मा दिएको कार्यवाहक उपकुलपति खनाल बताउँछन्। ‘बिपीमा यस्ता धेरै काण्ड भए। आन्तरिक छानबिनले नहुने देखेर प्रहरीलाई जिम्मा दिएका छौँ,’ उनले भने।

डिएसपी न्यौपानेले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए। केही मान्छेलाई नियन्त्रणमा समेत लिइएको तर अनुसन्धानमा असर पर्ने भएकाले सार्वजनिक नगरिएको डिएसपी न्यौपानेको भनाइ छ।

यसअघि पनि २०७५ वैशाख २३ गते एनआइसी एसिया बैंकमा रहेको प्रतिष्ठानको खाता नम्बर २३४१०१०१४८०५५२४०१४ बाट बिना शीर्षक रकम निकासा भएको थियो। चेक नम्बर १६७५०६५० मार्फत जीवन पौडेलको नाममा रकम गएको थियो।

तर घटना बाहिर आएपछि रातारात उक्त चेकको रकम पुनः प्रतिष्ठानको खातामा जम्मा गरिएको थियो। उक्त विषयमा अझै छानबिन चलिरहेको छ। सो चेकमा निलम्बित रजिष्ट्रार तुलबहादुर श्रेष्ठको नाम मुछिएको थियो।

तत्कालीन रजिष्ट्रार श्रेष्ठको नामबाट पैसा निकालिएको घटना सार्वजनिक भएपछि तत्कालीन उपकुलपति रौनियारले श्रेष्ठको आर्थिक कारोबार अधिकार खोसेर अस्पताल निर्देशक प्राडा गौरीशङ्कर साहलाई दिएका थिए। रौनियारले लेखा प्रमुख रूपा सिङ्घाची अग्रवाललाई अन्यत्र सरुवा गरेका थिए। स्वास्थ्यखबर पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्