महरा अर्थात, वन्दी नम्बर ३४३ को यस्तो छ दैनिकी



काठमाडौं : प्रायः भीआईपीका रोजाइमा पर्ने डिल्लीबजार कारागारको कैदी दर्ता ढड्डामा ३४३ नम्बरमा दर्ता भएका छन् पूर्वसभामुख कृष्णबहादुर महारा । यौन दुराचारको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका उनको जीवन शैली निकै सामान्य छ । उनी अन्य भीआईपी कैदीबन्दीभन्दा फरक किसिमले दिन गुजारिरहेका छन् ।

डिल्लीबजार सदरखोरकी शाखा अधिकृत सीता अधिकारीका अनुसार महरा निकै सरल तरिकाले दिन गुजारा गर्छन् । जेल कर्मचारीहरु हरेक दिन भीआईपीहरुका गतिविधि निगरानी राख्ने गर्छन् । पहिलो त उनीहरुको सुरक्षाको कारणले नै यसो गर्नु परेको जेल अधिकारीहरु बताउँछन् ।

त्यस अतिरिक्त उनीहरुका क्रियाकलापले अनुसन्धानमा पार्न सक्ने प्रभावलाई लिएर पनि उनीहरुमाथि निगरानी गर्नुपरेको अधिकारीहरुको स्वीकारोक्ति भेटिन्छ । अन्य भीआईपीहरुको केही फाइँफुइँ देखिए पनि कडा निगरानीमा राख्नु भनी जेल प्रशासनलाई दिएको सरकारी आदेशविपरीत महराको भने दिनचर्या निकै सरल रहेको जेल प्रशासनको रेकर्डमा छ ।

प्रायः नियमित रुटिनमा चल्ने महराको बानी रहेको जेल प्रशासन र अन्य बन्दीहरुको अनुभूति छ । बिहान ४.०० बजे ब्युँझने, नित्य कर्म गर्ने र फलफूल खाने अनि घाम ताप्ने गर्छन् उनी । कारागारका चौकीदार दीपक गिरीका अनुसार उनी राती ९.०० बजे सुत्छन् ।

यो नियमित क्रियाकलापसँगै उनलाई कारागारमा साथ दिने अन्य भीआईपी कैदीहरुमा रेशम चौधरी, डीबी कार्की, रमेश चन्द ठकुरी, रञ्जन कोइराला, शम्भु भारतीसहित ६ जना रहेका छन् । कारागारमा सुरक्षा व्यवस्थापनको आवश्यकता औंल्याउँदै शाखा अधिकृत अधिकारीले भीआईपीलाई सानो समूहमा अलग्गै राखिएको बताएकी छिन् ।

बाँकी समय किताब पढेर बिताउने महरा रमाइला गफगाफमा पनि सरिक हुने गर्दछन् । आफूको बाहेक अरुको पनि ख्याल राख्ने महरा खानपिन र आराम भए÷नभएको कुरामा साथीहरुको पनि उत्तिकै ख्याल राख्छन् ।

भात कमै रुचाउने महरा हप्ताको २ दिन भात र बाँकी ५ दिन कारागारको मेसमा पाक्ने रोटी खाने गर्दछन् । सबै बन्दीसँग सौहाद्र्र हेलमेल राख्ने महरा अन्य कैदीबन्दीसरह आफूलाई व्यवहार गर्न अनुरोध गर्दछन् ।

अरुबन्दी भन्दा फरक भनेको महरालाई एउटा ‘सिङ्गल बेड’ उपलब्ध गराइएको छ । महराका परिवारका सदस्य नियमितजसो भेटघाटमा आउने भए पनि अन्य भने धेरै आएको नदेखिएको कारागार प्रशासन स्वीकार गर्दछ ।

प्रतिक्रिया दिनुहोस्