माथि बुझाउनुपर्छ भन्दै प्रहरीको असुली धन्दा !



वीरगञ्ज : तस्करी रोक्नको लागि खटिएको प्ररहीले नै तस्करीलाई बढावा दिदा के होला ? हो अहिले पर्सामा यस्तै देखिएको छ । तस्करी रोक्नका लागि खटिएको प्रहरीले नै तस्करहरुसँग पैसा असुल्दै छाड्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

त्यहाँ पोस्टिङ हुँदा आफले पैसा तिरेको भन्दै प्रहरीले तस्करहरुसँग पैसा असुल्न थालेको समाचार बाहिर आएको हो । तस्करी रोकिनुपर्नेमा उल्टै पर्साको प्रमुख नाका इनर्वा र छपकैयाबाट तस्करी चलिरहेको छ ।

सयौँको संख्यामा साइकल र तीन पांग्रे ट्याम्पीमार्फत् त्यस्तो तस्करी भइरहेको बताईन्छ । नेपालबाट मरीच, छोहडा र केराउ भारततर्फ तस्करी भईरहेको छ । २ नम्बर प्रदेशका डिआइजी प्रद्युम्न कार्कीले सिभिलमा सई महेन्द्र साहको कमाण्डमा घुमुवाटोली परिचालन गरेका छन् ।

कमाण्डर महेन्द्र साह स्वयम् बारा र पर्सा नआए पनि उनीमातहतका घुमुवा सिपाहीहरू बारा र पर्सा आएर मासिकरूपमा तस्कर र व्यापारीहरूसँग रकम असुली गरिरहेको श्रोतको दाबी छ । केही समयअघि पनि साहमातहतको घुमुवा टोली बारा र पर्सामा आएर रकम असुली गरी फर्किएको बताईन्छ ।

पर्साका विभिन्न नाकाबाट ठूलो मात्रामा तस्करी भइरहेको समाचारहरू बाहिर आएपछि एसपी सोमेन्द्र सिंह राठौर स्वयम्ले तस्करी नियन्त्रणमा चासो दिएपछि अन्य नाकाबाट कमी भएको भए पनि छपकैया र इनर्वा नाकाबाट भने तस्करी नरोकिएको श्रोतले बतायो ।

उता जिप्रका पर्सा मातहतका प्रमुख थाना–चौकीहरूमा गएका सई–असईहरूले आफूहरू रकम बुझाएर आएको भन्दै आफ्नो असुलीधन्दा चलाइरहेका छन् । पोष्टिङ हुनैका लागि रकम बुझाउनुपर्ने चलन यसभन्दा अघि पनि पर्सामा नभएको होइन ।

प्रहरीले पोस्टिङअनुसार रेट पनि रहेको भन्दै रकम असुलीलाई बढावा दिएका छन् । उनीहरुका अनुसार इनर्वा र छपकैयाको २५ हजार, अलौ सिर्सियाको २० हजार, जानकीटोलाको १५ हजार, बहुअर्वा भट्टाको १५ हजार, गुडगाई र पिहुकीको १० हजार र भिस्वाले २० हजार मासिकरूपमा बुझाउनुपर्छ ।

वीरगञ्जमा प्रहरी सेटिंगमा तस्करी भएको समाचारहरू आएपछि मुख्यालयबाट एक जना डिएसपीको कमाण्डमा अनुगमन टोली वीरगञ्ज पुगेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्