उपचारका लागि सरिफ लण्डन प्रस्थान



एजेन्सी : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गरेका छन । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उनी बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका हुन ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उनलाई पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि उनलाई आफ्नै निवासमा अति सघन कक्ष (आइसियु) को व्यवस्था उपचार भइरहेको थियो ।

तर स्वदेशमा गरिएको उपचारबाट सन्तोषजनक सुधार नभएपछि उनलाई मङ्गलबार थप उपचारका लागि लण्डन लगिएको हो । जेल सजाय भोगिरहेका सरिफलाई जेल बाहिर निकालेर उपचार गर्न अदालतले आदेश दिएको थियो भने विदेश गएर उपचार गर्न सरकारले अनुमती दिएको थियो ।

तीन पटकसम्म देशको प्रधानमन्त्री भएका ६९ वर्षीय सरिफलाई रगतमा समस्या भएको चिकित्सकहरुले बताएका छन् । उनका चिकित्सकहरुका अनुसार सरिफले “जीवनसँग संघर्ष” गरिरहेका छन ।

उनलाई उपचार गर्न विदेश जान दिने की नदिने भन्ने बारेमा लामो समयसम्म छलफल भएपछि सरकारले उनको अवस्था थप नाजुक हुदै गएकाले विदेश जान दिने अनुमति दिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्