प्रचण्डले दिए महासचिव पौडेल र मुख्यमन्त्री पोखरेललाई यस्तो दनक



बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई चुनौती दिदै प्रदेश नम्बर ५ को राजधानी नयाँ ठाउँमा बनाउनुपर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डको यो भनाईले बुटवलमा हलचल मच्चाएको छ । उद्योग व्यापार संगठन रुपन्देही र चेम्बर आफ कमर्शको आयोजनामा आज (मंगलबार)देखि शुरु भएको पाचौँ लुम्बिनी पर्यटन प्रबद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सबको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रदेश ५ को राजधानी नयाँ ठाउँमा बनाउने धारणा व्यक्त गरेका हुन । उनले दुईवर्षसम्म ५ नम्बर प्रदेशको राजधानी र नामाकरण तोक्न नसकेकोमा मुख्यमन्त्री पोखरेलप्रति लक्षित गर्दै अन्यौलता छाएको बताए ।

अध्यक्ष प्रचण्डले प्रदेश राजधानी पुरानो शहरमा बनाउनुभन्दा नयाँ ठाउँमा बनाउनु उपयुक्त हुने भन्दै पार्टी महासचिव पौडेलप्रति पनि व्यंग्य गरेको थिए ।

केहीदिन अघि आफ्नो गृहनगर बुटवलमा आएका महासचिव एवम् सांसद पौडेलले ५ नम्बर प्रदेशको स्थायी राजधानी बुटवलाको विकल्प नभएको उद्घोष गरेका थिए । महासचिव पौडेलले ५ नम्बर प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई स्थायी राजधानी बनाउने उद्घोष गरेको सातादिन नबित्दै पार्टी अध्यक्ष प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि बुटवलमा हलचल पैदा भएको हो ।

त्यसो त नेकपाका नेता समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले हाल अस्थायी राजधानी रहेको बुटवललाई स्थायी राजधानी बनाउन अनउपयुक्त हुने भन्दै आफ्नो गृहनगर दाङलाई स्थायी राजधानी बनाउने प्रयास गर्दै आएका छन् । पार्टी महासचिव पौडेल र मुख्यमन्त्री पोखरेलबीच राजधानी कहाँ बनाउने भन्ने विषयमा तानातान भईरहँदा प्रदेश नम्बर ५ को राजधानी टुङ्गो लाग्न सकेको छैन ।

केहीदिन अघि दाङ पुगेर प्रदेश राजधानी दाङ उपयुक्त हुने बताएका अध्यक्ष प्रचण्डले आज भैरहवा पुगेर नयाँ ठाउँमा राजधानी बनाउनुपर्ने धारणा अघि सारिरहँदा कतिपयले महासचिव पौडेलले भनेअनुसार बुटवल र मुख्यमन्त्री पोखरेलले भनेअनुसार दाङ नभई विकल्पका रुपमा यो भनाई आएको विष्लेषण पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्