बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, घोराही बजार तनावग्रस्त



दाङ : दाङको घोराहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१४ स्थित घोराही अस्पतालनजिकै लु२ख १६०२ नम्बरको बसले रा३प १९७४ नम्बरको स्कुटरलाई बिहीबार बिहान ११ बजे ठक्कर दिँदा चालक घोराही उपमहानगरपालिका-१८ फुर्सेखालीका २९ वर्षीय मेघराज पुनमगरको मृत्यु भएको हो ।

 

एउटै दिशामा गुडिरहेको स्कुटरलाई बसले ठक्कर दिँदा पुनको घटनास्थलमै मृत्यु भएको हो । स्कुटरमा सवार फुर्सेखालीकै २४ वर्षीय महेश बुढामगर घाइते भएका छन् । घाइते बुढाको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

 

यसैबीच घटनापछि पीडित र स्थानीयले बसमा तोडफोड गरेका छन् । बसचालककै लापरबाहीले दुर्घटना भएको भन्दै उनीहरुले केहीबेर शव उठाउन दिएनन् । प्रहरीले एक दर्जन अश्रुंग्यास प्रहार गरी भीडलाई तितरबितर पारी शव उठाएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

 

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रत्यक्षदर्शीहरुले बस तीव्र गतिमा रहेकाले दुर्घटना भएको बताए । दोषीलाई कारबाहीको माग राख्दै मृतकका आफन्तले घोराही बजार बन्द गराउँदै हिँडेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्