राजेन्द्र महतोले साेधे, ‘प्रचण्डले आन्दोलन गर्दा प्रधानमन्त्री बन्ने र रेशम चौधरी जेल जाने ?’ 



काठमाडाैं : बुधबार पुस ११ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु भयो । संसद्को यो तेस्रो अधिवेशन हो । अधिवेशनको पहिलो दिन नै राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले सरकारमाथि चर्को प्रहार गरेका छन् ।

 

सरकारप्रति कडा रूपमा प्रस्तुत भएका महतोले टोलटोलमा देखिनुपर्ने सरकार पोलपोलमा देखिएको बताए । उनले रेशम चौधरीलाई जेल हाल्ने भए पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि जेल हाल्नुपर्ने जिकिर गरे । 

आक्रामक शैलीमा प्रस्तुत भएका महतोले प्रतिनिधिसभामै आफूमाथि विभेद भएको टिप्पणी गरे । सभामुखले अरूलाई बोल्ने समय नतोकेको तर आफूलाई दस मिनेटमात्र बोल्ने समयसीमा दिएको भन्दै महतोले एउटै देशमा दुईथरी व्यवहार गर्न नहुने बताए ।

 

संसद्को तेस्रो अधिवेशन आइपुग्दा पनि सर्वाधिक मतले विजयी सांसद रेशम चौधरी अझै सदनमा उपस्थित गराउन नसकिएको स्थितिप्रति उनले असन्तुष्टि जनाए । प्रचण्डलाई सम्बोधन गर्दै महतोले भने, ‘तपाईंले त दस वर्ष आन्दोलन गर्नुभयो । जनयुद्ध गर्नुभयो ।

 

अधिकारका लागि हजारौं सहिद भए । सुरक्षा अधिकारी मारिए । कसलाई मुद्दा लाग्यो ? को जेलमा छन् ?’ चौधरीकै प्रसंगमा महतोले अरूले अधिकारको आन्दोलन गर्दा प्रधानमन्त्री र मन्त्री बन्ने तर मधेसीले आन्दोलन गर्दा जेल जानुपर्ने टिप्पणी पनि गरे ।

 

उनले यो भेदभाव रहिरहने हो भने कुनै दिन ठूलै विष्फोट हुने चेतावनी दिए । प्रतिनिधिसभामा महतोले देशको गृहमन्त्रीले शपथग्रहण गराउने आश्वासन दिएको १० महिना बितिसक्दा पनि त्यसको कार्यान्वयन नभएको भन्दै अत्याचारको सीमाले पराकाष्ठा नाघिसकेको बताए । 

 

प्रधानमन्त्री उठेर गइसकेपछि नेकपा अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै उनले जनताको धैर्यको परीक्षा नलिन आग्रह गरे । दुईतिहाइको सरकारलाई महतोले ‘खोदा पहाड निकला चुहा’को उपमा दिए । आफ्नो कामको प्रशंसक सरकार आफूमात्र रहेको तर जनता भने सरकारसँग निराश भएको उनको भनाइ छ ।

 

महतोले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको शव चार महिनादेखि अस्पतालमै रहेको र उनको मृत्युबारे छानबिनका लागि समिति अझै नबनेको भन्दै सभामुखको ध्यानाकर्षण गराए । 

त्यस्तै १ सय ५५ दिनसम्म निर्मला पन्तको बलात्कारी र हत्यारा नभेटिएको पनि उनले स्मरण गराए । महतोले सरकारले संविधान संशोधन गर्न नचाहेको आरोपसमेत लगाए । उनले संविधान संशोधन गराउन भनेर सरकारमा गएको आफूहरूको एउटा पार्टनर अहिले हराइरहेको भन्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवमाथि कटाक्ष गरे ।

 

६ वटा संविधान पहिले पनि बनेर फालिएका र संविधान संशोधन नहुने हो भने यो संविधानको त्यस्तै हवीगत हुने उनको भनाइ छ । जनताको रगतको खोलो बगेपछि यो संविधान बनेकाले यसलाई जसरी पनि बचाउनुपर्छ भन्ने उनको भनाइ छ । 

महतोले संविधान संशोधन गर्ने, आन्दोलनकारीका मुद्दा फिर्ता लिने लगायतका मधेसी दलका माग सम्बोधन गर्ने वचन दिएपछि मात्र सरकारलाई समर्थन गरेको भन्दै सरकार अहिले त्यस कुराबाट पन्छिएको आरोप लगाए ।

मधेशमा शीतलहर सुरु भइसकेकाले अहिलेदेखि नै आवश्यक पहल गर्न संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराए । बजेटमा ल्याइएको तराई मधेस समृद्धि अभियानको नाम वास्तवमा तराई मधेश कम्युनिस्ट समृद्धि अभियान हुनुपर्ने उनको कथन छ । अभियानअन्तर्गतको बजेट कम्युनिस्ट नेतालाई मात्र दिइएको उनले आरोप लगाए । चुरे विनाश गरेर बन्न लागेको मदन भण्डारी लोकमार्गको पनि उनले विरोध गरे ।

 

मधेश जर्जर मरुभूमिमा परिणत हुँदै गएको समयमा बाँकी रहेको चुरेको भूभाग पनि लोकमार्गका नाममा विनाश गर्न नहुनेमा उनले जोड दिए । सरकार संघीयता कार्यान्वयन गर्न नभई असफल गराउन लागिपरेको उनको आरोप छ । संविधानमा पूरा अधिकार नदिइएको र दिइएको अधिकार पनि प्रयोग गर्न नपाएको उनले गुनासो गरे । 

प्रदेश २ ले ल्याएको प्रहरी ऐनको संघीय सरकारले गरेको विरोधको जवाफ दिँदै उनले प्रान्तीय सरकारले प्रान्तीय प्रहरी नै राख्ने जवाफ दिए । महतोले सरकारले चोरबाटोबाट अध्यादेश ल्याउन लागेको आरोप लगाए । त्यस्तै उनले अन्य काम बिर्सेर सरकार होली वाइनले जनतालाई शुद्ध गर्ने अभियानमा लागेको टिप्पणीसमेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्