यि हुन् बिदा हुने र नयाँ बन्ने मन्त्रीहरु



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद पुनर्गठन गर्ने भएपछि को–को हट्दै छन् र को–को बन्दै छन् मन्त्री भनेर कौतुहलता छाएको छ । मन्त्रीपरिषद पुनर्गठनको तयारीसँगै मन्त्री बन्नका लागि सांसदहरुको दौडधुप चलेको छ ।

मन्त्रीमण्डल पुनर्गठनमा मन्त्री बनाउने सांसदहरुलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर वान टू वान वार्ता गरी तयारी अवस्थामा रहन संकेत गरेका छन् । अहिलेसम्म कति जना मन्त्री हटाउने भन्ने विषयमा टुंगोमा पुग्न नसकेका प्रधानमन्त्री ओलीले नयाँ बन्ने मन्त्रीहरुको नाम पनि गोप्य राखेका छन् ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाललाई निरन्तरता दिने बताइन्छ ।

यसैगरी पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेतलाई पनि निरन्तरता दिने चाहना राखेका छन् । शिक्षा मन्त्री पोखरेलसँग ट्यूनिङ नमिलेपनि आन्तरिक समिकरणका कारण प्रधानमन्त्री ओली सकारात्मक रहेको बताइन्छ ।

मन्त्रीमण्डलमा आउने सम्भावित मन्त्रीको लिस्टिङ पनि प्रधानमन्त्री ओलीले तयार पारेका छन् । प्रधानमन्त्री ओलीले नेकपाका नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नी सापकोटा, प्रभु साह, खजराज अधिकारी, महेश बस्नेतको नाम चर्चामा छन् । त्यस्तै छविलाल विश्वकर्मा, उपसभामुख शिवमाया तुम्वाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, रामेश्वर राय यादव र हृदयश त्रिपाठी मध्येबाट मन्त्री बनाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुको सामूहिक राजीनामा माग गर्ने चर्चा पनि चलिरहेका बेला उनले मन्त्रिपरिषदका सबै सदस्यलाई नहटाई केहिमन्त्रीलाई मात्र जिम्मेवारीबाट मुक्त गर्ने तयारी गरेका छन् । अहिलेसम्म १० जना मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गर्ने सोच बनाएका प्रधानमन्त्री ओली माथि नेताहरुको दवाव बढ्दै जाँदा १० जनालाई जिम्मेवारी मुक्त गर्ने कि ५ मन्त्री र दुई राज्यमन्त्री गरी ७ जनालाई बिदा गर्ने विषयमा प्रधानमन्त्री ओली निष्कर्षमा पुग्न सकेका छैनन ।

स्रोतका अनुसार कृषि मन्त्री चक्रपाणी खनाल, उद्योग मन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, युवा तथा खेलकुद जगत विश्वकर्मा तथा राज्यमन्त्रीहरु धनबहादुर बुढा र रामकुमारी चौधरीलाई हटाउने तयारी गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ, अर्थमन्त्री युवराज खतिवडालाई हटाउने कि राख्ने विषयमा राति अबेरसम्म प्रधानमन्त्री ओली गम्भिर परामर्शमा रहेको बताइन्छ ।

हटाइने चर्चामा रहेका खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर, भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई मन्त्रीमा राखिरहने टुंगोमा पुगेको बालुवाटार स्रोतले बताएको छ ।

बिदाई हुने मन्त्रीहरूको जिम्मेवारीमा आउने नयाँ मन्त्रीहरूको नाम तयार भइसकेको छ तर त्यसलाई गोप्य राखिएको छ ।

आज अपराह्न नेकपाको सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री ओलीले सचिवालयमा मन्त्रिमण्डल पुनर्गठनको औपचारिक प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । त्यसपछि मन्त्रीमण्डलबाट हटाउने र राख्ने विषय टुंगो लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्