राजपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्रीको यस्तो छ तयारी



काठमाडौं : समाजवादी पार्टीले आफू सरकारबाट बाहिरिने अल्टिमेटम सरकारलाई दिने चर्चा भइरहँदा सरकार भने अर्को रणनीति कार्यान्वयनको तयारीमा जुटेको छ ।

मन्त्रीमण्डलको पुनर्गठनको तयारीमा लागेको प्रधानमन्त्री केपी शर्मा ओली अब समाजवादी पार्टीलाई सरकारबाट ‘आउट’ गरी राजपालाई ‘इन’ गराउने अभियानमा लागेका हुन् ।

प्रधानमन्त्री ओलीले यो अभियान लाई सफल पार्न मुख्य गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई अघि सारेका छन् । मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई साथ लिएर यो काम भित्रभित्रै गरिरहेका छन् ।

बाँस्कोटालाई राजपाका केही नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाएका छन् भने सरकारको यो प्रस्तावमा राजपाका नेताहरु सकारात्मक रहेको बताइएको छ । सरकारसँगको निरन्तर वार्तामा रहेका राजपा अध्यक्ष मण्डलका एक सदस्यले सरकारसँग वार्ता भइरहेपनि सरकारमा सहभागी हुने विषयमा निर्णय भइनसकेको बताए ।

समाजवादी पार्टीले संविधान संशोधनको विषयलाई लिएर सरकारलाई अन्तिम अल्टिमेटम दिने र त्यसपछि पनि संविधान संशोधनको सुरसार नदेखाए सरकारबाट हट्ने कुरा सार्वजनिक गरेसँगै सरकारले पनि राजपासँग सत्तामा सहभागिताका लागि गोप्य वार्ता र छलफल चलाउँदै आएको हो ।

सरकारले समाजवादी पार्टीले कुनै पनि बेला सरकार छाड्ने भएकाले त्यसको विकल्पमा राजपालाई साथमा लिन वार्ता अगाडी बढाएको छ । सरकारसँग वार्ता र छलफल सकारात्मक बन्दै सहमतीमा पुगेपछि समाजवादी पार्टी र राजपाबीचको पार्टी एकता पनि अलपत्र परेको छ । संविधान संशोधनको एजेण्डा लिएर सडकमा उत्रने र समाजवादी–राजपा एकता गर्ने भन्ने समाजवादी पार्टीको सोच सरकार–राजपाको सहमतीले अहिले तुषारापात हुन पुगेको छ ।

तर, ओली नेतृत्वको यहि सरकारलाई समर्थन गरेर आफ्ना मागप्रति वेवास्ता गरेको भनी समर्थन फिर्ता लिइसकेको राजपाका अध्यक्षमण्डलका सबै नेताहरु प्रधानमन्त्रीको प्रस्तावप्रति आश्वस्त हुन नसक्दा त्यसबारे निर्णय हुनसकेको छैन ।

स्रोतका अनुसार प्रधानमन्त्रीबाट कुनै विश्वासिलो आधारसहित प्रतिबद्धता आउँछ भने सरकारमा गएर आफ्ना माग पुरा गर्न लाग्नुपर्ने एउटा पक्षको धारणा बुझेपछि सरकारतर्फबाट प्रयास थालिएको हो ।

ओली नेतृत्वको सरकारले आफ्ना प्रमुख मुद्दा नै सम्बोधन नगरेको, हत्या आरोपमा अदालतको फैसलापछि जेलमा रहेका राजपा सांसद रेशम चौधरीलाई छुटाउन सहयोग नगरेकोप्रति असन्तुष्टि जनाउँदै राजपाले २०७५ फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्