अनुमतिबिना सिसिटिभि जडान गर्नेलाई कारबाही गरिने



कैलाली : कैलालीका अधिकांश सरकारी तथा निजी कार्यालयमा अनुमतिबिना सिसिटिभी क्यामेरा जडान भएका छन् । सीसीटिभी क्यामरा जडान गर्न अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था लागू भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका बहुसंख्यक कार्यालयले अनुमतिबिना नै जडान गरेका छन् ।

सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाले अनुमतिबेगर सीसीटिभी क्यामरा जडान गरेका पाइएको छ । बैंक तथा वित्तीय संस्थाले समेत सीसीटिभी जडान गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । तर, अहिलेसम्म अधिकांश व्यापारी तथा वित्तीय संस्थाहरूले अनुमतिबिना नै सीसीटिभी क्यामरा सञ्चालन गरिरहेका छन् ।

जिल्ला प्रशासनले अनुगमन गर्न नसकेका कारण पनि ठूलो संख्यामा अनुमतिबिना नै क्यामरा सञ्चालनमा छन् । जसले गर्दा सिसिटिभी क्यामरा जडान गर्ने सम्बन्धमा सरकारले जारी गरेको निर्देशिका कार्यान्वयन हुन सकेको छैन ।

निर्देशिका जारी भएको २ वर्षको अवधिमा जिल्लामा १७ वित्तीय संस्था, १० शैक्षिक संस्था, ५ अस्पताल, र १६ व्यापारी गरी जम्मा ४९ वटा संस्थाले अनुमति लिएर सिसिटिभी जडान गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी यादव भण्डारीले जानकारी दिए ।

भण्डारीले भने ‘ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थामा सिसिटिभी क्यामरा जडान भइरहेको छ तर अनुमति भने कमैले लिएका छन् ।’ जिल्ला प्रशासनले जनशक्ति अभावका कारण अनुगमन गर्न नसकेको भण्डारीले स्विकार गरे । 

जिल्ला प्रशासनले सिसिटिभी क्यामेरा जडान गर्ने सम्बन्धमा अनुमति लिनेबारे सूचना निकालेको भए पनि अधिकांशले अझै अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए । उनले चाँडै अनुगमन गरी नियमविपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने आश्वासन दिए । 

प्रतिक्रिया दिनुहोस्