सुदूरपश्चिममा सामुदायिक चौपायाबाट आर्गेनिक खेती 



कैलाली : सुदूरपश्चिम प्रदेशमा रासायनिक मल अभाव भएपछि प्राङगारिक खेतीमा जोड दिन प्रदेश कृषि मन्त्रालयले अभियान थालेको छ । चालू आर्थिक वर्षमा मात्रै प्राङगारिक मल उत्पादनका लागि प्रदेश कृषि मन्त्रालयले दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रासायनिक मलको अभाव भएपछि कृषक तथा सहकारीले आन्दोलनसमेत गर्दै आएका छन् । कतिपय किसानले त रासायनिक मल नपाएर हिउँदे खेती नै लगाएका छैनन् भने मलका लागि सम्बन्धित निकायमा नियमित धाइरहेका छन् ।

 

सुदूरपश्चिम प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले रासायनिक मल आपूर्ति गर्दै आएका छन् । हिउँदे तथा वर्षे सबै खेतीमा रासायनिक मलको प्रयोग बढेसँगै मलको सधैं अभाव हुने गरेको कृषि सामाग्री कम्पनी लिमिटेड धनगढीले जनाएको छ । 

कृषकले खेतबारीमा आवश्यकताभन्दा बढी रासायनिक मल प्रयोग गर्ने र कम्पनीबाट थोरै मात्रामा मल आपूर्ति हुने गरेको लिमिटेडको भनाइ छ ।  

कृषकको उक्त समस्यालाई मध्यनजर गर्दै कृषि मन्त्रालयले प्राङगारिक उत्पादनका कार्यक्रमलाई प्रमुख प्रथमिकतामा राखेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बताइन् ।

 

किसानलाई रासायनिक मलको प्रभावबारे चेतना फैलाउन तथा प्राङगारिक उत्पादनमा जोड दिन चेतनामूलक कार्यक्रम प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिरहेको मन्त्री चौधरीले जानकारी दिइन् ।

तराई क्षेत्रको प्रमुख समस्याका रूपमा रहेका सामुदायिक चौपाया व्यवस्थापन गरी कैलालीका भजनी, टीकापुर र धनगढीका कञ्चनपुरलगायतका ठाउँमा प्राङगारिक मल उत्पादन केन्द्रको सञ्चालन गरिएको मन्त्री चौधरीले बताइन् । जहाँबाट किसानले खेतबारीमा प्रयोग गर्न प्राङगारिक मल प्राप्त गर्ने उनको भनाइ छ । 

हिउँदे खेतीका लागि मात्रै किसानलाई ५० प्रतिशत अनुदानमा नौ सय मेटिक टन प्राङगारिक मल वितरण गरेको मन्त्रायलका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।

 

प्राङगारिक मल उत्पादन कार्यक्रमअन्तर्गत प्रदेशका ४ ठाउँमा गड्यौला मल उत्पादन स्रोत केन्द्र स्थापना गरिएको जोशीले बताए । चालू आर्थिक वर्षमा प्रदेश कृषि मन्त्रालयले १ करोड ५३ लाख अनुदानका लागि मात्रै रकम विनियोजन गरेको र झन्डै २ करोड रकमबराबरका कृषि कार्यक्रम ल्याएको महाशाखा प्रमुख जोशीले बताए । 

प्रतिक्रिया दिनुहोस्