बाहिरिने मन्त्रीहरुले डेरा खोज्दै, नयाँ बन्नेहरुले दौरा सुरुवाल मिलाउँदै



काठमाडौं : आज (बुधबार) बिहान मन्त्रीपरिषद पुनर्गठनका विषयका विषयमा छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेपछि अहिले बालुवाटारमा पार्टीको सचिवालय बैठक बसिरहेको छ ।

सचिवालय बैठकपछि आजै मन्त्रीमण्डल पुनर्गठन हुने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । प्रधानमन्त्री ओलीले आज मन्त्रीपरिषद पुनर्गठन गर्नेबारे हिजो साँझ बसेको रमन्त्रीपरिषदको बैठकमा सबै मन्त्रीलाई जानकारी गराएका थिए ।

हटाइने मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले भेटेर आवश्यक सन्देश प्रवाह गरेका छन् भने नयाँ बन्ने मन्त्रीहरुलाई आवश्यक तयारीमा रहन सूचना पठाएका छन् । यसपछि बाहिरिने सम्भावित मन्त्रीहरुले डेरा सर्ने तयारी गरिरहेका छन् ।

आज सिंहदरबारका मन्त्रालयहरु प्रायः सबै खाली देखिन्थे ।

उता नयाँ बन्ने सूचना पाएका मन्त्रीहरु दौरा, सुरुवाल, कोट र कालो जुत्ता मिलाउन थालेका छन् ।

मन्त्रीमण्डलमा आउने सम्भावित मन्त्रीको लिस्टिङ पनि प्रधानमन्त्री ओलीले तयार पारेका छन् । प्रधानमन्त्री ओलीले नेकपाका नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, लेखराज भट्ट, छविलाल विश्वकर्मा, अग्नी सापकोटा, प्रभु साह, खगराज अधिकारी, महेश बस्नेतको नाम चर्चामा छन् । त्यस्तै उपसभामुख शिवमाया तुम्वाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, रामेश्वर राय यादव र हृदयश त्रिपाठी मध्येबाट मन्त्री बनाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

अहिलेसम्म १० जना मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गर्ने सोच बनाएका प्रधानमन्त्री ओली माथि नेताहरुको दवाव बढ्दै जाँदा १० जनालाई जिम्मेवारी मुक्त गर्ने कि ५ मन्त्री र दुई राज्यमन्त्री गरी ७ जनालाई बिदा गर्ने विषयमा प्रधानमन्त्री ओली निष्कर्षमा पुग्न सकेका छैनन ।

स्रोतका अनुसार कृषि मन्त्री चक्रपाणी खनाल, उद्योग मन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, युवा तथा खेलकुद जगत विश्वकर्मा तथा राज्यमन्त्रीहरु धनबहादुर बुढा र रामकुमारी चौधरीलाई हटाउने तयारी गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ, अर्थमन्त्री युवराज खतिवडालाई हटाउने कि राख्ने विषयमा राति अबेरसम्म प्रधानमन्त्री ओली गम्भिर परामर्शमा रहेको बताइन्छ ।
बिदाई हुने मन्त्रीहरूको जिम्मेवारीमा आउने नयाँ मन्त्रीहरूको नाम तयार भइसकेको छ तर त्यसलाई गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्