राजिनामा दिने श्रीलङ्काका प्रधानमन्त्रीको तयारी



एजेन्सी : श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गरेका छन । राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजिनामा दिने तयारी गरेका हुन ।

नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रसस्त गरिदिन उनले राजिनामा दिन लागेका श्रीलङ्काको दैनिक पत्रिका डेलि मिररले लेखेको छ । राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको समाचारमा जनाइएको छ । स्थानीय समयानुसार बुधबार दिउसो ४ बजे बस्ने मन्त्रीपरिषद्को विषेश बैठकपछि उनले पद त्यागको घोषणा गर्ने श्रीलङ्का दैनिकले लेखेको छ ।

विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्री परिषद् गठन गर्ने जनाइएको छ । सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ ।

स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन् । युनाइडेट नेस्नल पार्टी (युडीपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन ।

पराजित भएका प्रेमादास भने ५३ बर्षको छन । नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो । आइतबार निर्वाचित राष्ट्रपति राजापाक्षेले सोमबार सपथ ग्रहण गरेका थिए ।

राजापाक्षे परिवारबाट राष्ट्रपति बन्ने उनी दोस्रो व्यक्ति भएका छन । यसअघि उनको परिवारबाट उनका दाई महिन्दा राजापाक्षे राष्ट्रपति बनेका थिए । उनले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्कामा राष्ट्रपतिको रुपमा देशको नेतृत्व गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्