प्रतिबन्धित भारुसहित भारतीय युवक पक्राउ



वीरगन्ज : पर्सा प्रहरीले एक भारतीय नागरिकलाई भारतीय रुपैयाँ बोकेको आरोपमा बिहीबार पक्राउ गरेको छ । प्रहरीले भारत बिहार पश्चिमचम्पारण बेतिया जिल्ला थाना गौनाहा वडा नम्बर ७ का ३० वर्षीय युवक प्रदीप भगतलाई पक्राउ गरेको हो ।

 

भगतका साथबाट प्रहरीले नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाइएका भारु २ सयको नोट २ थान, ५ सयको नोट १६१ थान र २ हजारको नोट ४५ थान गरी १ लाख ७० हजार बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

 

नेपालबाट भारु लिएर भारततर्फ गइरहेको भन्ने सूचनाका आधारमा भगतलाई वीरगन्ज १६ इनर्वास्थित शंकराचार्यनजिक मेनरोडबाट प्रहरीले पक्राउ गरेको थियो । भारुसहित पक्राउ परेका भगतलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया पठाइएको प्रहरी नायब उपरीक्षक राईले बताए ।

 

पर्सा प्रहरीले यसअघि भारु ५ लाख ६२ हजारसहित एक भारतीय नागरिकलाई पक्राउ गरिसकेको छ । केही भारतीय नोट प्रतिबन्धित गर्ने सरकारको निर्णयपछि गत पुस ५ गते भारुसहित भारतको पूर्वीचम्पारण सितामढी जिल्ला बैरगनियाँ ग्राम जमुवा निवासी ४० वर्षीय ओमप्रकाश साहलाई पक्राउ गरिएको थियो । उनका साथबाट एक हजार एक सय २४ वटा ५ सयको नोट बरामद गरिएको छ ।

 

मंसिर २५ गते मन्त्रिपरिषद् बैठकले नेपालमा भारतीय २ सय, ५ सय र २ हजारको नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्