बालबालिकाका अनुभव दर्शाउन बाल उदय पत्रिका बजारमा आउँदै



काठमाडाैं : सिकाइ संस्कृति विकासका लागि बाल पत्रिका भन्ने मूल मर्मका साथ ‘बाल उदय’ मासिक बालपत्रिका प्रकाशनमा आएको छ । ८ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरेर बाल पत्रिका प्रकाशनमा ल्याइएको प्रकाशक एवम् सम्पादक नरेन्द्रकुमार नगरकोटीले बताए । 

 

पत्रिकाको पहिलो अङ्कको कुल पृष्ठ ५६ पेजको छ । पत्रिकाको पहिलो अङ्क बजारमा गइसकेको र केही समयमै सबै जिल्लामा वितरण हुने सम्पादक नगरकोटीले जानकारी दिए ।  उनकाअनुसार प्रत्येक पृष्ठमा फरक भूगोलका बालबालिकाका रचना पत्रिकामा समावेश गरिएका छन् । सम्पादक नगरकोटीले यस बालपत्रिकामार्फत नयाँ प्रतिभाको उजागर र बालबालिकालाई विशेष स्थान दिने बताए ।

हरेक महिना बालबालिकाको आवाज लिएर आउने यस पत्रिकामा विशेष महिनामा मनाइने चाडपर्व, स्थानीय प्रविधि, नेपाली जनजीवन, संस्कृतिबारे बालबालिकाका अनुभव समेटिनेछ । बाल उदयमा बढीभन्दा बढी बाल सहभागिता हुनेछ । 

 

कारणसहित आफूलाई मन पर्ने र मन नपर्ने कुरा, जीवनमा पहिलोपल्ट गरिएका कुनै पनि अनुभव, आफूले पढेको राम्रो किताब, नयाँ ठाउँको यात्रा अनुभव, सामाजिक सेवा गरेको अनुभव, पैसा कमाएको क्षणको कथा, कुनै कुरा निर्माण गरेको, समस्या र अप्ठ्यारोमा पर्दाको अनुभव, कतै पुरस्कृत हुँदाको अनुभव आदि विषयमा लेख रचना लेखिपठाउन बालबालिकालाई अनुरोध गरिएको छ ।

 

बालबालिकालाई लक्षित गरेर प्रकाशन गरिए पनि सबै अभिभावकका लागि समेत पठनयोग्य हुने उनको दाबी छ ।  बालबालिलाई केन्द्रित गरी पठनयोग्य पत्रिका प्रकाशन गर्नु चुनौतीको विषय भए पनि आफ्नो टिमले उक्त जोखिम लिएरै पत्रिका प्रकाशन गरेको उनले बताए । 

 

उनले बालबालिकाको प्रत्यक्ष सहभागितामा स्कुलस्कुल र जिल्लाजिल्लामा सिर्जनात्मक सीप विकास कार्यशाला सञ्चालन गरिने पनि बताए ।  पत्रिकामा बालबालिकालाई नकारात्मक असर गर्ने कुनै पनि किसिमका विज्ञापन नराख्ने सम्पादक टिमले अठोट लिएको छ ।  यही अठोटसाथ बालपत्रिकालाई निरन्तरता दिनका लागि पाठक, लेखक, शिक्षक, कर्मचारी, सरकारी निकाय, संघसंस्था र सबै शुभचिन्तकलाई अनुरोध समेत टिमले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्