पर्साको सरकारी अस्पतालमै छैन प्रयाप्त औषधी



वीरगन्ज : वीरगन्जबाट करिब २० किलोमिटर पश्चिततर्फ रहेको पर्साको दोश्रो सदरमुकाम पोखरिया नगरपालिकामा सञ्चालित पोखरिया अस्पतालको फार्मेसीमा प्रयाप्त औषधी नहुँदा उपचारका लागि आएका विरामीले बाहिरबाट महंगो मूल्यमा औषधी खरिद गर्नुपरेको छ ।

दैनिक २ सयभन्दा बढी बिरामीको चाप रहने सो अस्पतालको फार्मेसीमा प्रयाप्त औषधी नहुँदा स्वास्थ्य बिमा गराएका बिरामीहरुले समेत बाहिरबाट महंगो मूल्यमा औषधी खरिद गर्नुपरेको छ ।

सरकाले निःशुल्क रुपमा वितरण गर्न निर्देशन दिएको औषधी समेत अस्पतालबाट नपाएको बिरामीहरुले गुनासो गरेका छन् । ढाँड दुखाईको उपचारकालागि अस्पताल पुगेकी पकहामैनपुर निवासी मैना देविले स्वास्थ्य विमाको औषधी समेत अस्पताल फार्मेसीबाट नपाएपछि बाहिरको पसलबाट खरिद गरेकोे गुनासो गरिन् ।

यता अस्पताल फार्मेसीका इन्र्चाज शिवेन्द्र चौधरीले जनस्वास्थ्य कार्यालयमा औषधीको उपलब्धता नभएको कारण वितरण गर्न नसकिएकोे बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रबाट ५६ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधी निःशुल्क रुपमा बिरामीलाई उपलब्ध गराउने नेपाल सरकारको निर्देशन भएपनि पोखरिया अस्पताल प्रशासनको लापरवाहीका कारण उक्त सुविधाबाट लाभग्राही बञ्चि भएका छन् ।

अस्पतालका मेडिक सुपरिटेन्डेन्ट जिल्ला बाहिर भएका कारण फार्मेसीमा आवश्यक औषधीको प्रवन्ध गर्न नसकिएको प्रशासन प्रमुख सदन दासले जानकारी गराए । निःशुल्क रुपमा वितरण गर्ने औषधीका लागि माग फारम भरी पठाएको र एक–दुई दिनमा औषधी उपलब्ध भएपछि वितरण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्