जयप्रकाश ठाकुर पुन: राजपा फर्किए



काठमाडाैं: प्रतिनिधिसभा सदस्यमा टिकट नपाएर राजपा छाडेका राजपाका तत्कालिन् सह-महासचिव जयप्रकाश ठाकुर एघार महिनापछि पुनः साेही पार्टीमा छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको उपस्थितिमा बुधवार ठाकुर पुनः राजपा फर्केका हुन् । राजविराजमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गरी महतोले ठाकुरलाई राजपामा प्रवेश गराएका छन् ।

गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीको संसदीय क्षेत्र न. २ बाट टिकट नपाएपछि ठाकुरले राजपाबाट बिद्रोह गरी राजपाले सर्मथन गरेका फोरम अध्यक्ष उपेन्द्र यादवविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

पत्रकार सम्मेलनमा महतोसँगै उपस्थित रहेका ठाकुर भने केहि बोलेनन् ।  पत्रकार सम्मेलनपछि पनि सञ्चारकर्मीहरुले जिज्ञासामा उनले भने, ‘पछि कुरा गर्छु ।’

पत्रकार सम्मेलनमा बोल्दै महतोले तत्कालिन् समयमा मधेशी जनताको भावनाअनुसार फोरमसँग चुनावी गठबन्धन गर्नु परेकोले आफ्नै पार्टीका धेरै साथिहरुलाई टिकट दिन नसकेको बताए ।  'विगतमा पार्टीबाट भएको त्रुटिका लागि दुःख मान्नु पर्दैन । ठाकुरजीलाई घर फिर्ता गराइयो, अब उचित स्थानसमेत दिनेछौँ ' महताेले भने ।

ठाकुरलार्इ पार्टी प्रवेश गराउँदै महतोले चुनावका बेला पार्टीबाट बिद्रोह गरी गठबन्धनका विरुद्ध उम्मेदवारी दिने आफ्ना सबै नेता कार्यकर्तालाई घर फिर्ता हुन आह्वान पनि गरे ।

सरकारले संविधान संशोधन नगरेको आरोप लगाउँदै महतोले चाडबाड सकेपछि संविधान संशोधन गराउन सडक आन्दोलनमा जाने चेतावनी समेत दिए ।

 

प्रतिक्रिया दिनुहोस्