दसगजा क्षेत्रको अतिक्रमण खाली गराइने  



जनकपुरधाम : नेपाल–भारतबीच वर्षौंदेखि कायम सीमा विवादलाई दुवै देशका अधिकारीहरूले सहकार्य गरेर समाधान गर्ने सहमति भएको छ । नेपाल–भारत संयुक्त फिल्ड सर्वे टोलीको बिहीबार सीमावर्ती सहर जयनगरमा बसेको बैठकमा हराएका ठाउँमा नयाँ सीमास्तम्भ राख्ने र क्षतिग्रस्त भएका ठाउँमा मरम्मत गर्ने सहमति भएको हो । 

नेपालका चारवटा जिल्ला सिरहा, धनुषा, महोत्तरी, सर्लाहीसम्मको एक सय चार किलोमिटर अन्तर्राष्ट्रिय सीमा भारतीय राज्य बिहारको मधुबनीसँग जोडिएको छ । यो दूरीमा कुल एक हजार पाँच सय साठी सीमास्तम्भ छन् । जसको रेखदेख दुवै देशले गर्नुपर्ने हुन्छ । 

सहमतिअनुसार नेपालले कुल दुई सय ५९ सीमास्तम्भको मरम्मत र चार सय ७८ वटाको पुनर्निर्माण गराउनेछ । नेपालको जिम्मामा कुल सात सय ३७ सीमास्तम्भको रेखदेख गर्ने रहेको छ । जसमा ४४ वटा मुख्य, एक सय ८७ वटा सहायक र पाँच सय सातवटा माइनर स्तम्भ छन् ।

 

यसैगरी भारतले दुई सय ६३ वटा सीमास्तम्भको मरम्मत गराउनेछ भने पाँच सय ६० वटा सीमास्तम्भको पुनर्निर्माणको जिम्मा लिएको छ । भारतको जिम्मामा कुल आठ सय २३ सीमास्तम्भको हेरचाह छ । जसमा मुख्य ४५, सहायक एक सय ९४ र साना पाँच सय ८४ स्तम्भ छन् । 

सहमतिपछि सीमास्तम्भको मरम्मत तथा पुनर्निर्माण कार्य तत्काल सुरु हुने जनाइएको छ । 

अन्र्राष्ट्रिय सीमा दसगजामा अतिक्रमित क्षेत्र पहिचान गरिसकिएको र तत्काल खाली गराइनेछ । अन्तर्राष्ट्रिय सीमामा हुने तस्करी र विभिन्न अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा संयन्त्रले संयुक्त अभियान सञ्चालन गर्ने सहमतिसमेत बैठकमा भएको छ । 

बैठकमा दुवै देशका प्रशासनिक तथा सुरक्षा अधिकारीहरू सहभागी थिए ।  

 

प्रतिक्रिया दिनुहोस्