काठमाडौं : नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले वाइडबडी जहाज खरिदमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकाले शीर्ष नेताहरूले नबुझीकन प्रतिक्रिया दिएको उनले बताए ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महाप्रबन्धक कंशकारले भने, ‘यस्तो प्राविधिक विषयमा शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो भन्ने आश्चर्य मलाई लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले नबुझीकन कसरी बोल्नुभयो ?’
उनले सर्वोच्च अदालतले निर्णय दिइसकेको अवस्थामा देउवा र बाबुरामले त्यस विषयमा बोल्नुका राजनीतिक हुन सक्ने टिप्पणी गरे ।
कंशाकारले लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरूले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने विश्वास व्यक्त गरे । उनले वाइडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम र कानुनअनुसार नै रहेको भनेर फैसला गरेको जानकारी दिए ।
उनले भने, ‘सर्वोच्चले सबै प्रक्रिया पूरा भएरै जहाज खरिद भएको हो भनी २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।’
दुईवटा वाइडबडी जहाज खरिदका लागि पहिलो किस्ता पठाउनुअघि संसद्को अन्तर्राष्ट्रिय समितिले मन्त्रीसहित आफूहरूलाई बोलाएको कुरा उल्लेख गर्दै उनले भने, ‘त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीलाई बोलायो । त्यति नै बेला अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । त्यसको पनि हामीले जवाफ पठायौं । त्यसपछि हामीलाई तीनवटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र पनि आएन । त्यही भएर हामीले खुरुखुरु काम गर्यौं । विमान खरिद प्रक्रिया पनि विकास निर्माणको काम हो ।’
कंशाकारले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दाबी गर्दै आफूले पदबाट राजीनामा नगर्ने स्पष्ट पारे । इतिहासमै सबैभन्दा कम मूल्यमा जहाज खरिद गरेको दाबी गर्दै उनले विरोध गर्नेहरूले कुरै नबुझेको बताए । उनले प्राविधिक कुरा नबुझी हल्लाको पछि नलाग्न नेताहरूलाई सुझाव दिए ।
कंशाकारले विरोध गर्नेहरूको वास्तविकता आफूलाई थाहा भएको भन्दै समय आएपछि भित्री कुरा बाहिरिने बताए ।
उनले निगमले १ हजार घण्टा उडान भरेको जहाज भित्र्याएको स्विकार गरे । यद्यपि उनले उक्त जहाज ‘ब्राण्ड–न्यु’ भएको पनि दाबी गरे । उनले विमानको भारहन क्षमता २४२ टनको भए पनि हाल २३० टनमात्रै रहेको पनि स्विकार गरे ।