नेप्से घट्यो, कारोवार बढ्यो



काठमाडौ : बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार आज पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ विन्दुले घटेर एक हजार २१५ दशमलव १६ विन्दुमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १५ विन्दुले घटेर २५८ दशमलव ६६ विन्दुमा झरेको छ । बजार घटे पनि कारोवार रकममा भने आज सुधार आएको छ । 

धेरै पछि कारोवार रकम अर्बमाथि पुगेको हो । कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर रु एक अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ मूल्यमा खरीद–बिक्री भएका छन् । 

आज कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेका छन् । उत्पादन १९ दशमलव १८, अन्य ११ दशमलव ४६ र जीवन बीमा १७० दशमलव ४२ विन्दुले बढेका छन् । 

यस्तै बैंकिङ ६ दशमलव ६६, व्यापार दुई दशमलव ९६, होटल ६३ दशमलव ६३, विकास बैंक पाँच दशमलव २९, जलविद्युत् चार दशमलव २९, वित्त दुई दशमलव २१, जीवन बीमा ४८ दशमलव ६७ र माइक्रोफाइनान्स दुई दशमलव ६५ विन्दुले घटेका छन् । 

घटेको बजारमा सिटिजन इन्भेस्टमेन्ट ट्रष्ट, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन डिस्टिलरी लिमिटेड, समता माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स, वरुण हाइड्रोपावर कम्पनीका शेयरधनीले कमाएका छन् । 

यस्तै सिद्धार्थ इक्विटी ओरेण्टेड स्किम, सनराइज बैंक लिमिटेड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, गरिमा विकास लघुवित्त वित्तीय संस्था सोल्टी होटल लिमिटेडका शेयरधनीले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्