युवकको कुटाइबाट पर्सामा एक वृद्धको मृत्यु 



वीरगन्ज : पर्सामा एक युवकको कुटाइबाट घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । विन्दवासनी गाउँपालिका झौवागुठी–३ का ६५ वर्षीय वृद्ध एकबाली साह सोनारको उपचारक्रममा बिहीबार वीरगन्जको हेल्थकेयर अस्पताल गण्डकमा मृत्यु भएको हो ।

 

झौवागुठीकै विजय पटवासँग गत मंसिर ३० गते पटवाको खेतमा लगाइएको रहरबाली एकबाली साहको बाख्राले चरेपछि विवाद भएको थियो । विवाद हुँदा विजय र उनका छोरा बिजुली पटवाले सोनारलाई कुटपिट गर्दा उनको शरीरभरि चोट लाग्नुका साथै बायाँ खुट्टा भाँच्चिएको थियो ।

 

गम्भीर घाइते सोनारलाई वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि हार्डजोर्नी डाक्टर रामअशीष ठाकुरको क्लिनिकमा रेफर गरिएको थियो । 

 

डा. ठाकुरले सोनारको खुट्टाको अप्रेसन गरी भाँच्चिएको हड्डी जोडेका थिए । दुई दिनसम्म अस्पतालमा सामान्य अवस्थामा रहेका सोनारको अचानक पेट दुखेपछि थप उपचारका लागि चिकित्सकले हेल्थकेयर अस्पतालमा रेफर गरेका थिए । 

 

गत मंसिर ८ मा वीरगन्जको हेल्थकेयर अस्पतालमा भर्ना गरिएका सोनारको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको उनका छोरा ध्रुव साहले बताए । 

 

कुटपिटमा संलग्न विजय र उनका छोरा बिजुलीलाई इलाका प्रहरी कार्यालय पोखरियाले घटनालगत्तै नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका विजयले घाइते सोनारको उपचारमा लाग्ने सम्पूर्ण खर्च र क्षतिपूर्ति दिने भनेपछि घाइते परिवारकै सहमति र स्थानीयको रोहबरमा छाडेको प्रहरी निरीक्षक मछिन्द्रबहादुर केसीले बताए ।

 

 विजयले उपचारखर्च दिने सहमति गरे पनि हालसम्म एक रुपैयाँ नदिएको मृतकका छोरा ध्रुवको आरोप छ । सोनारको मृत्यु भएको खबर पाउनासाथ घटनामा सलंग्न व्यक्ति अहिले फरार रहेको स्थानीय कृष्ण साहले बताए । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्