किन घट्यो पेट्रोलियम पदार्थको बिक्री ?



मकवानपुर : विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी आएको छ । 

विद्युत् भार कटौती हटेको, उद्योगले पेट्रोलियम पदार्थ खरिद नगरेको तथा सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करीमा कमी आएका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जका प्रमुख जगदीशचन्द्र यादवले बताए । 

नेपाल र भारतमा पेट्रोलियम पदार्थको बिक्री मूल्यमा एकरुपता आएका कारणले तस्करी नियन्त्रण भएको र नियमित विद्युत् आपूर्ति भएकाले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको हो । 

बारा, पर्सा र रौतहटका गरी ११४ पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने पम्प सो शाखाअन्तर्गत रहेका छन् । हाल दैनिक पेट्रोल ६० हजार लिटर, डिजेल दुई लाख ५० हजार लिटर र मट्टितेल हप्तामा १२ हजार लिटर रक्सौलबाट आयात गरी व्यवसायीलाई वितरण भइरहेको छ । 

एक महिना अघि ८६ हजार लिटरदेखि ९६ हजार लिटर पेट्रोल तथा तीन लाख ५० हजार लिटर डिजेल दैनिक आयात भइरहेको थियो । सो शाखामा भण्डारण गरिने ट्याङ्की नरहेकाले जसरी आयात गरिन्छ, त्यसरी नै पम्प र उद्योगीलाई वितरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्