मुख्यमन्त्री राउतको फेसबुक आइडी दुरुपयोग



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना सहकर्मीको फेसबुक पेज लाइक गर्न सामाजिक सञ्जालमा आमन्त्रण गरेको देखियो । बिहीबार साँझ फेसबुकमा मित्र रहेका व्यक्तिहरूलाई सन्तोष यादव नाउँ गरेका व्यक्तिको फेसबुक पेज लाइक गर्न मुख्यमन्त्री राउतले आग्रह गरेको देखिएको हो । 

मुख्यमन्त्री राउतका प्रेस सहयोगी आतिश मिश्रका अनुसार सन्तोष मुख्यमन्त्री राउतसँग निकट वीरगन्जस्थित संघीय समाजवादी फोरमका कार्यकर्ता हुन् । 

परिचय उल्लेख नभएका सन्तोष यादवको पेजमा यो समाचार तयार पार्ने समयभन्दा नौ घन्टाअघि एकजना व्यक्ति कुर्चीमा बसेको तस्बिरसँग एउटा कविताको अंश लेखिएको छ । 

यात्रीलाई बाटो प्यारो हुन्छ

बेहुलीलाई रातो प्यारो हुन्छ

जाडोयाममा तातो प्यारो हुन्छ

मुख्यमन्त्रीको फेसबुक आइडी अन्यत्रबाट ह्यान्डल भइरहेको र अरूले नै अर्काको फेसबुक पेज लाइक गर्न आह्वान गरेको हुन सक्ने मुख्यमन्त्री राउतको सचिवालयले जनाएको छ । 

मुख्यमन्त्री राउतको आधिकारिक फेसबुक आइडीबाट अर्काको र त्यसमा पनि असम्बद्ध व्यक्तिको पेज लाइक गर्न आह्वान गरिएको घटनालाई मुख्यमन्त्रीको हेलचक्रयाइँको रूपमा लिइएको छ भने यस्ता कार्यले मुख्यमन्त्रीको नितान्त गोप्य कुरामा अर्काको सहज पहुँच रहेको टिप्पणी गरिएको छ । 

फेसबुकले आइडीलाई व्यक्तिगत र गोपनीयताको हक लाग्ने सम्पत्तिका रूपमा मान्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्