१ मेयर, ९ वडाध्यक्ष सहित ५६ जनप्रतिनिधिको पद रिक्त



काठमाडाैं :  देशभरका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले हालसम्म ११ जिल्लाका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधि रिक्त रहेको  राज्य व्यवस्था समितिको बैठकमा जानकारी गराएको हो ।

 

रिक्त पद मध्ये एकजना मेयर, ९ जना वडाध्यक्ष, एकजना कार्यपालिका सदस्य र बाँकी अन्य पद रहेको आयोगले जानकारी दिएको छ ।

 

सुनसरीको धरान उपमहानगरपालिकामा मेयर पद रिक्त छ । मेयर तारा सुब्बाको मृत्यु भएपछि उक्त पद रिक्त भएको हो ।

 

आयोगको तथ्यांक अनुसार धरान उपमहानगरपालिका वडा नं ७, सिरहाको कल्याणपुर नगरपालिका १२, महोत्तरीको बलवा नगरपालका २ र रामेछापको उमाकुण्ड गाउँपालिका ५ का वडाध्यक्षको मृतयु भएको छ । पाँचथर र नवलपारसीको सुस्ता पूर्वमा पनि एकएकजना वडाध्यक्षको मृत्यु भएपछि पद रिक्त छ ।

 

यस्तै महोत्तरीको मटिहानी नगरपालिका ६ का वडाध्यक्षले राजीनामा दिएको र नुवाकोटको एक गाउँपालिकाका वडाध्यक्ष जेल परेको निर्वाचन आयोगले जनाएको छ ।

 

उदयपुरमा एक जना कार्यपालिका सदस्यको पद रिक्त छ । त्रियुगा नगरपालिकाका कार्यपालिका सदस्यको मृत्यु भएपछि उक्त पद रिक्त भएको हो ।

 

सोलुखुम्बुको सोलु दूध कुण्डको ११ नम्बर वडामा भने निर्वाचन नै नभएकोले सबै पद रिक्त रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

 

स्थानीय तह प्रमुख, उपप्रमुख र वडाध्यक्षको मृत्यु भएमा वा कुनै कारणले रिक्त भएमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । अन्य वडासदस्यहरूको बारेमा भने निर्वाचन हुने उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस्