चीनमा गुप्तचरका पूर्व प्रमुखलाई आजीवन जेल सजाय



बेइजिङ: चीनका गुप्तचरका पूर्वप्रमुख मा जियानलाई घुस लिएको तथा गैरकानुनी रुपमा आर्थिक लेनदेन गरेको आरोपमा आजीवन जेल सजाय तोकिएको छ । उनीमाथि सन् २०१५ देखि अनुसन्धान सुरु भएको थियो । त्यसलगत्तै उनलाई चिनियाँ कम्युनिस्ट पार्टीबाट एकपछि निष्कासन गरिएको थियो ।

 

उनी घुस लिएको आरोपमा दोषी पाइएको र उनले आफूमाथि सुनाएको जेल सजायविरुद्ध अपिल गर्न नपाउने लिओनिङ प्रान्तको एक अदालतले जनाएको छ । राष्ट्रपति सी जिनपिङले भ्रष्टाचारविरोधी अभियान सुरु गरेदेखि चिनियाँ कम्युनिष्ट पार्टीका केही उच्च स्तरका नेता समेत छानविनका क्रममा दोषी पाइएका छन् । जियान राज्य सुरक्षासम्बन्धि शक्तिशाली मन्त्रालयको उपमन्त्री थिए ।

 

भ्रष्टाचारविरोधी अभियानका क्रममा चीनमा हजारौं कारबाहीमा परेका छन् । यसअघि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरु केन्द्रीय राजनीतिक तथा कानुनी मामला आयोगका सचिव झाउ योङकाङ, चिनियाँ कम्युनिस्ट पार्टीको चोङक्विङका सचिव सुन झेङकाई, केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष सु चाईहोउ र गोउ बक्सिओङ, पूर्व राष्ट्रपति हु जिन्ताओका पालामा चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण भूमिकामा रहेका लिङ झिह्वालगायत समेत भ्रष्टाचारको आरोपमा जेल परेका छन् ।

 

यसरी जेलमा परेकामध्ये चोङक्विङका पूर्वसचिव रहेका सुन झेङकाईलाई सी जिनपिङको उत्तराधिकारीका रुपमा हेर्ने गरिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्