रहेनन् पञ्चायतविरुद्ध रगतको हस्ताक्षर गर्ने अधिकारी



स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाका नेता शिवकुमार अधिकारीको ७९ वर्षको उमेरमा निधन भएको छ ।

 

पुतलीबजार नगरपालिका १० राङखोला निवासी अधिकारी पञ्चायती शासनविरुद्ध नेपाली काँग्रेसले संचालन गरेको संघर्षका पक्षमा रगतले हस्ताक्षर गर्ने स्याङ्गजाका पहिलो ब्यक्ति थिए । तर अधिकारीको पार्थिव शरीरमाथि नेपाली काँग्रेसको झण्डा ओडाउन भने उनको परिवारले दिएनन् ।

 

नेपाली काँग्रेसमा पछिल्लो समयमा बढ्दै गएको बिकृति बिसंगति हटाई सुधारिएको काँग्रेस निर्माण गरि देशभरिका प्रजातन्त्र सेनानीहरू जिउँदै हुँदा पार्टीले सम्मान गर्ने परिपाटी बसाउन सक्नुपर्छ भन्ने उनको मान्यता थियो ।

 

जिउँदोमा सम्मान नगर्ने तर मृत्यु पछि झण्डा ओडाउने कार्य गलत हो भन्ने मान्यता राख्ने भएकाले उनको शरिरमा काग्रेसको झण्डा ओढाउन नदिएको छोरा शरद अधिकारीले जानकारी दिए ।

 

२०१७ सालको राजनीतिक ‘कू’ पछि नेपाली कांग्रेसप्रति आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका अधिकारी नेपाली कांग्रेस जिल्ला सदस्य, सचिव, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनेर कांग्रेसको संगठन सुदृढीकरणमा लागेका थिए ।

 

अधिकारी २०४९ सालमा सम्पन्न भएको स्थानीय निकायको निर्वाचनबाट जिल्ला विकास समिति स्याङ्जाको सभापतिमा निर्वाचित भएका थिए ।

 

नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अधिकारी स्याङ्जा जिविसका पहिलो सभापति हुन् । अंग्रेजी भाषा शिक्षक, प्रधानाध्यापक हुँदै विभिन्न सामाजिक सेवामा समेत आवद्ध थिए ।अधिकारीले नेता बिपी कोइरालासँग बनासरमा निर्वासनका बेला सँगै बसेका राजधानीमा खवर छ ।

 

करिब साढे चार वर्षको जेल जीवन र चार वर्षको निर्वासन रहेका अधिकारीले २०३६ सालको जनमत संग्रहसँगै दिइएको आम माफिमा समेत माफि पाएका थिएनन् । तत्कालीन सरकारले उनको टाउको ल्याउनेलाई ५० हजार पुरस्कार घोषणा गर्दै सर्वस्वहरणसहित मृत्युदण्डको मुद्दा चलाएको थियो । अधिकारीका २ श्रीमती ३ छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्