सीजीलाई मोबाइल सेवा सन्चालन गर्न अनुमति दिन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं: सर्वोच्च अदालतले सीजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सन्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ ।

 

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बिहीबार सो कम्पनीलार्ई मोबाइल सेवा सन्चालनका लागि अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

 

‘आधारभूत टेलिफोन सेवा सन्चालन गर्ने अनुमति प्राप्त गरेको देखिँदा उक्त अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने कुनैपनि कार्य गर्न नरोक्नू, रोक्न नलगाउनू तथा निजलाई कुनै बाधा र अवरोध नगर्नू, नगराउनू’–आदेशमा भनिएको छ ।

 

त्यसैगरी, आदेशमा अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने खरिद, जडान तथा सो सम्बन्धमा आवश्यक पर्ने थप लगानीका लागि निवेदक (सीजी टेलिकम)लाई आवश्यकताअनुसार अनुमति दिनू, दिलाउनूसमेत भनिएको छ ।

 

आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र सन्चालनमा ल्याउन आवश्यक पर्ने अन्य सेवाप्रदायकसरह समान हक स्थापित गर्नसमेत आवश्यक फ्रिक्वेन्सी वितरण गर्नसमेत अदालतले आदेशमा उल्लेख गरेको छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरणले सीजी टेलिकमलाई मोबाइल सेवा सन्चालन गर्न आवश्यक मापदन्ड पूरा नभएको उल्लेख गर्दै सेवा सन्चालन गर्ने अनुमति दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्