६ महिनाभित्रै महाधिवेशन गर्न सिटौलाको आग्रह



काठमाडौं : कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले महासमिति भेलाबाट पारित विधान कार्यान्वयन गर्न छिटोभन्दा छिटो महाधिवेशनमा जानुपर्नेमा जोड दिएका छन् । 

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधानअनुसार पार्टीका सबै निकाय गठन गर्नुपर्ने र विधानले समेत बाटो खुला गरेकाले त्यसमा ढिलाइ गर्न नहुने जिकिर गरे ।

‘मेरो विचारमा त अबको ६ महिनाभित्रै महाधिवेशन गरे पनि हुन्छ’, उनले भने, ‘यदि त्यो नभए चैत मसान्तभित्र सर्वसम्मत तरिकाबाट विधानले भनेअनुसार संक्रमणकालीन व्यवस्थाअनुसार प्रदेश, क्षेत्र र स्थानीय तह हामीले निर्माण गर्नु पर्छ ।’ उनले पार्टीको संक्रमणकालीन व्यवस्थाअनुसार पार्टी संरचना बनाए पनि महाधिवेशनमा पार्टी जानैपर्ने देखिएको दाबी गरे ।

पार्टीभित्र बेथिति रहे पनि महासमिति बैठकले पारित गरेको विधान अग्रगामी भएको दाबी गर्दै सिटौलाले कार्यान्वयनमा जोड दिए । उनले भने, ‘यसको सफल कार्यान्वयन नै पार्टी नेतृत्वको सफलता हो ।’ 

महासमितिको अन्त्यमा शीर्ष नेताहरूले एकता सन्देश दिनु राम्रो भए पनि त्यसको दिगोपनामा उनले शंका गरे । ‘इमान्दारितापूर्वक सभापति र वरिष्ठ नेताबीच एकता भएको भए यत्ति साह्रै प्रचार गर्नुको कुनै तुक छैन’, उनले भने, ‘यदि उहाँहरूले भनेअनुसार लभमा पर्नु भएको छ भने कसैले लस्ट नगरोस् भन्ने मेरो कामना छ ।’

पार्टीको गत महाधिवेशनमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै सभापतिमा उम्मेदवारी दिएका सिटौलाले त्यस बेलाको आफ्नो निष्कर्ष ठीक भएको दाबीसमेत गरे । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्