पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध



इस्लामाबाद: पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ ।

 

भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो ।

 

सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारीअनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनामाथि अनुसन्धान गरिएको छ ।

 

उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको जनाइएको छ । ‘अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाइएको छ,’ मन्त्री चौधरीले भने ।

 

जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए । उनी प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष पनि हुन् ।

 

जर्दारीकी श्रीमती पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको ११औँ बार्षिकी बनाउँदै गरेको बेलामा सरकारले यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्