जग्गा किर्ते प्रकरण : मालपोत कार्यालयका प्रमुखसहित आठजनासँग धरौटी माग



काठमाडौं : विशेष अदालतले मालपोत कार्यालय चाबहिलका प्रमुख कमलप्रसाद तिमिल्सेनासहित आठजनासँग धरौटी माग गर्न आदेश जारी गरेको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले मालपोत प्रमुख तिमिल्सेनासहित आठजनासँग धरौटी माग गर्ने आदेश जारी गरेको हो । 

काठमाडौं बुढानीलकण्ठका चन्दनकृष्ण कायस्थको नाममा रहेको करोडौँको जग्गा किर्ते कागज बनाएर बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

१० करोडको जग्गा ६ करोडमा बिक्री

अदालतले मालपोत प्रमुख तिमिल्सेनासँग पाँच लाख ५० हजार, किर्ते गर्न सहयोग गर्ने खगेन्द्रप्रसाद अर्यालसँग ४० हजार, रामप्रसाद सुवेदी, रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठसँग जनही ४० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए । 

जग्गा किर्ते गर्ने मुख्य सहयोगी नवदुर्गाप्रसाद ढुंगेल, सुरेशकुमार थापा र सनिस सापकोटासँग जनही ६ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ । २०६५ सालमा नक्सालका चन्दनकृष्ण कायस्थले खरिद गरेको बुढानीलकण्ठको जग्गा उनले थाहै नपाई भूमाफियाले मालपोत कार्यालय चाबहिलका कर्मचारीसँग मिलेर ६ करोडमा बिक्री गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्