कांग्रेसमा ‘अर्लि’ महाधिवेशनको पक्षमा सिटौला समूह



काठमाडौं :  महासमिति बैठक सकिएको एक साता पूरा नहुँदै नेपाली कांग्रेसमा ‘अर्लि महाधिवेशन’ को आवाज उठेको छ । कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौला समूहले नयाँ संरचनाअनुसार बनेको विधानमा टेकेर ६ महिनाभित्र पार्टीको १४औं महाधिवेशन गर्न नेतृत्वसँग माग गरेको हो ।

 

कांग्रेसले महासमिति बैठकमार्फत नै पार्टीलाई मुलुकको संविधानअनुसार संघीय संरचनामा लैजाने उद्घोष गरेको थियो । संघीयस्वरूपमा पार्टीलाई लैजान कांग्रेसको विधानसमेत बनिसकेको छ । १३औं महाधिवेशनमा फरक धारका रूपमा कांग्रेस सभापतिका लागि उम्मेदवारी दिएका नेता सिटौलाले बिहीबार राजधानीमा पत्रकारसँगको अन्तक्र्रियामा ‘अर्लि’ महाधिवेशनको माग गरेका हुन् ।

 

‘पार्टीलाई संघीय स्वरूपअनुसारको संरचनामा लैजान विधान बनिसक्यो, अब महाधिवेशनका लागि बाँकी समय नै कुर्नुपर्छ भन्ने छैन, जेठभित्रै महाधिवेशन गर्न सकिन्छ,’ सिटौलाले भने, ‘६ महिनाभित्रै हुनेगरी अर्लि महाधिवेशन तोकौं ।’ पार्टीको गतिशीलताका लागि सबै तहमा संघीय संरचनाअनुसार पार्टीको संगठन विस्तार गर्न आगामी १४ जेठभित्र महाधिवेशन गर्नेगरी तालिका बनाएर अघि बढ्न सकिने उनले जनाए ।

 

उनले अर्लि महाधिवेशनका लागि सहज नभए संक्रमणकालीन व्यवस्थाअनुसार तल्लो तहबाट नै निर्वाचन गर्दै अघि बढ्न सकिने समेत जनाए । ‘विधानमा उल्लेख भएको संक्रमणकालीन व्यवस्थाको प्रयोग गर्दै चैतभित्र पनि तल्लो तहबाट अधिवेशनको सुरुवात गर्न सकिन्छ,’ उनले थपे । सिटौलाले महाधिवेशन प्रतिनिधिले नै प्रदेश र केन्द्रको नेतृत्व चयन गर्ने तथा क्षेत्रमा क्षेत्रले र जिल्लामा जिल्लाले नै चयन गरी अघि बढ्न सक्ने बताए । धेरैवटा जिल्लाका स्थानीय तहको भूगोल परिवर्तन भएका कारण पार्टीको संगठन ती जिल्लामा चलायमान नभएको निष्कर्ष सिटौलाको छ ।

 

उनले पार्टी सभापतिलाई वर्तमान विधानले कमजोर बनाएको हो भन्ने पत्रकारको जिज्ञासामा पार्टी कमजोर भएर सभापति बलियो हुनुभन्दा सभापति कमजोर भएर पार्टी बलियो हुनु पार्टीका लागि जायज हुने तर्क गरे । ‘पार्टी कमजोर भएर सभापति बलियो हुँदा अर्थ रहन्न तर सभापति कमजोर भएर पार्टी बलियो भयो भने त्यो पार्टीका लागि फाइदाजनक रहन्छ, पार्टी बलियो हुँदा सभापति आफैं बलियो हुन्छ,’ सिटौलाले तर्क गरे ।

 

युवा नेता गगन थापाले महाधिवेशनका लागि पार्टीभित्र अप्ठेरो अवस्था नरहेको बताए । ‘१४औं महाधिवेशनका लागि असहज अवस्था होला भनेर अब सोच्नुपर्ने अवस्था छैन, तत्काल प्रक्रिया थाल्दा कार्यकर्ता तहसम्म ऊर्जा जान्छ,’ नेता थापाले भने ।  उनले पार्टीभित्र विधानको सर्वोच्चतालाई मिचेर जे पनि गर्न सकिन्छ भन्ने मानसिकता अब कसैले राख्न नहुने समेत तर्क गरे ।

 

‘अब जे हुन्छ विधानमा टेकेरै हुनुपर्छ, विधानको सर्वोच्चतालाई कुल्चेर पहिलेजस्तो मनपरि अब पार्टीभित्र चल्दैन, त्यो मानसिकता सबैले हटाउनैपर्छ, विधानलाई नमान्दा मन मिलेर पनि केही हुँदैन,’ उनले थपे । नेता थापाले विगतदेखि चलिआएको परम्परा अन्त्य गर्नु नै कांग्रेसका लागि महŒवपूर्ण हुने र त्यसले नयाँ ऊर्जा दिने दाबी गरे । यस्तै केन्द्रीय सदस्य उमाकान्त चौधरी र शिव हुमागाईंले समेत विगतलाई पाठका रूपमा लिएर नेता कार्यकर्तामुखी हुनुपर्नेमा जोड दिए । त्यसो गर्दा पार्टीका हरेक संरचना बलियो हुने उनीहरुको तर्क छ ।

 

यसअघि महासमिति बैठक जारी रहेकै बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत कार्यतालिकासहित ७ फागुन २०७६ मा महाधिवेशन प्रस्ताव गरिसकेका छन् । नेता सिटौलाले आफ्नै नेतृत्वमा जारी भएको संविधानको व्यवस्थाका विषयमा प्रश्न उठाएर धर्मका विषयमा पार्टीलाई जोड्न नहुने बताएका छन् । उनले धर्मको विषयमा पार्टीभित्र विवाद गर्नु संविधानविपरीत हुने भन्दै संविधानको व्यवस्थालाई बलियो बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्