‘अमेरिकाले विश्वको रखवाली गर्ने ठेक्का लिन सक्दैन’



अमेरिका: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आफ्नो पहिलो भ्रमणका क्रममा अमेरिका विश्वको रखवाली गर्ने ठेक्का लिन नसक्ने बताएका छन्।

 

आफ्नो पहिलो र आकस्मिक इराक भ्रमणमा अन्य देशले पनि जिम्मेवारी बहन गर्न उनले भनेका छन्। इराकमा तैनाथ अमेरिकी सैनिकसँग अचानक भेट्न पुगेका ट्रम्पले युद्धग्रस्त सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने फैसलाको रक्षा गर्दै त्यसमा कुनै ढिलाइ नहुने उनले बताए।

 

अमेरिकी सैनिकहरुलाई सम्बोधन गरेपछि ट्रम्पले बग्दादको पश्चिमस्थित हवाई अड्डामा पत्रकारहरुसँग भने– ‘अमेरिका निरन्तर विश्वको रखवालीको ठेका लिन सक्दैन।’ इराकको यो पहिलो यात्रामा ट्रम्पसँग प्रथम महिला मेलानिया पनि साथमा थिइन्। ट्रम्पले यदि अमेरिकामा कुनै अरू आतंकवादी आक्रमण भएमा त्यसको कडा जवाफ दिने चेतावनी पनि दिए।

 

ट्रम्पले सैनिकहरुलाई भने– ‘यदि केही त्यस्ता घटना हुन्छ भने जिम्मेवार पक्षले यस्तो परिणाम भोग्नुपर्नेछ जुन कहिल्यै कसैले भोगेको हुने छैन।’ सिरियाबाट आफ्ना सैनिकलाई फिर्ता बोलाउने र बाँकी क्षेत्रीय देश विशेष गरी टर्कीमाथि आईएसविरुद्ध काम पुरा गर्ने जिम्मेवारी छोड्ने फैसलाको रक्षा गर्दै भने– सबै बोझ हामीमाथि राख्ने, यो ठीक होइन।

 

ट्रम्पले गत हप्ता विश्व र आफ्नै देशका नेताहरुलाई चकित तुल्याउँदै आकस्मिक रूपमा अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेका थिए। उनले आईएसलाई परास्त गरिसकेकाले सिरियामा अब अमेरिकाको आवश्यक नभएको तर्क दिएका थिए।

प्रतिक्रिया दिनुहोस्